काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘जेनजी’ आन्दोलनसम्बन्धी प्रतिवेदनमा आफ्नो नाम उल्लेख भएपछि आशिका तामाङ ले तीव्र असन्तुष्टि जनाएकी छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई अन्याय, भ्रष्टाचार र कुशासनविरुद्ध निरन्तर आवाज उठाउँदै आएको व्यक्ति भन्दै आयोगको प्रतिवेदनप्रति आपत्ति प्रकट गरिन् ।

advertisement

तामाङले सन् २०१८ देखि राज्यका गलत प्रवृत्तिविरुद्ध सडकदेखि सामाजिक सञ्जालसम्म सक्रिय रूपमा बोल्दै आएको उल्लेख गर्दै आफू उमेरले ‘जेनजी’ नभए पनि युवा पुस्ताको पीडा र आक्रोशसँग सधैँ जोडिएको बताएकी छन् ।

उनले आन्दोलनका क्रममा घाइतेहरूलाई अस्पताल पुगेर भेटेको, पीडित परिवारसँग साथ दिएको र मानवताको पक्षमा उभिएको आफ्नो भूमिका आयोगले बेवास्ता गरेको आरोप लगाइन् ।

सांसद तामाङले आफू कुनै पनि हिंसा, आगजनी वा तोडफोडमा संलग्न नरहेको दाबी गर्दै भनेकी छन्, “मैले कसैलाई हिंसामा उक्साएको छैन, न त निर्दोषमाथि गोली चलाएको छु । मैले अन्यायविरुद्ध आवाज मात्र उठाएको हुँ ।”

उनले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकारका बेला आफू १८ दिन हिरासतमा परेको प्रसङ्गसमेत स्मरण गरिन् । त्यसबेला आफ्नी सानी छोरी र परिवारले भोगेको पीडामा मानव अधिकार आयोग मौन बसेको भन्दै उनले प्रश्न उठाइन् ।

तामाङले आयोगसँग आफ्नो कुन अभिव्यक्ति वा गतिविधिले हिंसा भड्काएको भन्ने स्पष्ट आधार सार्वजनिक गर्न माग गरेकी छन् । साथै, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउँदै आफूले बोलेका शब्द मात्र होइन, आफूले भोगेका अन्याय पनि अनुसन्धानको विषय बन्नुपर्ने उल्लेख गरिन् ।

उनले सत्यलाई दबाएर जनताको आवाज रोक्न नसकिने समेत प्रतिक्रिया दिएकी छन् ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com