काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको मूल मर्म, मूल्य र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताएका छन् ।
गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौँ सहिदको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका हुन् ।
उनले नेपालको संविधान कुनै व्यक्ति वा दलको नभई परिवर्तन चाहने सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको भन्दै यसको रक्षा र कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउन आवश्यक रहेको उल्लेख गर्दै उनले राज्य सञ्चालनमा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य आजको प्रमुख आवश्यकता भएको बताए ।
‘गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो,’ उनले शुभकामना सन्देशमा भनेका छन्, ‘समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्दै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई अझ मजबुत बनाउनुपर्छ ।’
दाहालले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आम नागरिकबीच एकता आवश्यक रहेको उल्लेख गरेका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको पनि उनले बताएका छन् ।
राजनीतिक मतभेद स्वाभाविक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्यको संस्कृति विकास गर्नुपर्नेमा जोड दिँदै उनले परिवर्तनका उपलब्धि कमजोर बनाउने कुनै पनि प्रयासप्रति सचेत रहन आग्रह गरेका छन् ।
सन्देशको अन्त्यमा उनले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुन आह्वान गरेका छन् ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया