मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई व्यवहारमा उतार्दै नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनु अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विगतका कमजोरी र त्रुटिबाट पाठ सिकेर नागरिकको अधिकार, समृद्धि र सुशासनका लागि थप जिम्मेवार ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

advertisement

उनले संघीयताको कार्यान्वयन र संरक्षण अहिलेको प्रमुख चुनौती भएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिप्रति गम्भीर आत्मसमीक्षा आवश्यक रहेको बताए । पछिल्लो समय विशेषगरी युवापुस्तामा बढ्दो असन्तुष्टि र ‘देशमा केही परिवर्तन भएन’ भन्ने गलत धारणा चिर्न राजनीतिक दल तथा नेतृत्वले आफ्नो कार्यशैली सुधार्नुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले केही व्यक्तिको व्यवहार र नेतृत्वशैलीका कारण जनतामा निराशा बढेको स्वीकार गर्दै त्यसलाई आधार बनाएर संघीय व्यवस्थामाथि नै प्रहार गर्ने प्रयास भइरहेको बताए । उनले लोकतान्त्रिक प्रणालीलाई कमजोर बनाउने गतिविधिप्रति सचेत रहन सबैलाई आग्रह गरे ।

उनका अनुसार बागमती प्रदेश सरकारले आगामी दिनमा जनमुखी, आयमुखी, गरिबमुखी र विकासमुखी नीति अवलम्बन गर्नेछ । विकासलाई केवल सडक र भवन निर्माणमा सीमित नराखी सामाजिक रूपान्तरण, आर्थिक सशक्तीकरण र मानव विकाससँग जोडेर अघि बढाइने उनले स्पष्ट पारे ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी सिर्जनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले गरिब, विपन्न, श्रमिक, महिला तथा सीमान्तकृत समुदायको उत्थानलाई केन्द्रमा राखेर समावेशी विकासको अवधारणा कार्यान्वयन गरिने बताए ।

‘लोकतन्त्रको वास्तविक सुन्दरता संवाद, सहकार्य र सहभागितामा निहित हुन्छ,’ उनले भने, ‘त्यसैले व्यक्तिगत वा दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितलाई केन्द्रमा राख्न सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ ।’

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com