काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको राजनीतिक अधिकार, राष्ट्रिय एकता र समृद्ध भविष्यको आधार भएको बताएका छन् ।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले नागरिकलाई राजनीतिक अधिकार सुनिश्चित गर्नुका साथै साझा राष्ट्र निर्माणका लागि एकताबद्ध हुने अवसर प्रदान गरेको बताए ।

advertisement

उनले जाति, भाषा, धर्म, संस्कृति र भूगोलको विविधतालाई आत्मसात् गर्दै नेपाली जनतालाई एउटै राष्ट्रिय भावनामा जोड्ने आधार गणतन्त्र भएको उल्लेख गरे । ‘गणतन्त्र हाम्रो लागि केवल राजनीतिक व्यवस्था मात्र होइन, यो राष्ट्र निर्माणको महान् प्रेरणा र ऐतिहासिक जिम्मेवारी पनि हो,’ उनले भने ।

राष्ट्रपति पौडेलले गणतन्त्रको गरिमा जोगाउन राजनीतिक दल, सरकार र सम्पूर्ण नागरिकले आचरण, निष्ठा र मूल्य मान्यतामा सुधार ल्याउँदै एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले लोकतान्त्रिक व्यवस्थाको सफलताका लागि नैतिकता, जिम्मेवारी र सुशासन अपरिहार्य रहेको बताए ।

उनले सामाजिक न्याय, विकास र समृद्धिसहित संघीय लोकतान्त्रिक गणतन्त्रको प्रभावकारी अभ्यासमा जोड दिँदै राजनीति र राज्य सञ्चालनलाई नैतिकता तथा मूल्यमान्यताको सीमाभित्र राख्नुपर्ने धारणा व्यक्त गरे ।

राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न जटिल परिस्थितिबीच सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट बलियो जनादेश प्राप्त सरकार बनेको उल्लेख गर्दै सरकारले सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले सरकारद्वारा अघि सारिएका शासकीय सुधारका एक सय कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन भएमा नागरिकमा नयाँ आशा र भरोसा जाग्ने विश्वास व्यक्त गरे । साथै, सीमारहित अर्थतन्त्र र तौलरहित व्यापारका लागि आवश्यक संरचनागत तथा कानुनी सुधार पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

‘राजनीतिक परिवर्तनले मात्रै युगका अपेक्षा पूरा हुँदैनन्,’ राष्ट्रपति पौडेलले भने, ‘राज्यसत्ता, राजनीति र नेतृत्वको चरित्र तथा व्यवहारमा पनि परिवर्तन आउनुपर्छ, अन्यथा राजनीतिक उपलब्धिको वास्तविक अर्थ स्थापित हुन सक्दैन ।’

उनले देशको सबैभन्दा ठूलो समस्या ढिलासुस्ती, अनियमितता र बेथिति भएको उल्लेख गर्दै यिनै कारण नागरिकमा निराशा बढ्न नदिन सबै पक्ष सचेत हुनुपर्ने बताए ।

‘जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको उज्यालो पुग्दैन, तबसम्म संघीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पूरा भएको मान्न सकिँदैन,’ उनले भने ।

राष्ट्रपति पौडेलले नागरिकले अहिले सुशासनसहितको समृद्धि खोजिरहेको उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरेर मात्रै आर्थिक विकास र समृद्धिलाई जनजीवनसँग जोड्न सकिने बताए । उनले यही दायित्व आजको ऐतिहासिक आवश्यकता भएको धारणा राखे ।

उनले राजनीतिक उपलब्धिलाई नागरिकको दैनिक जीवनसँग जोड्न शासकीय शैली, राजनीतिक संस्कृति र नेतृत्वको चरित्रमा परिवर्तन आवश्यक रहेको बताए । लोकतन्त्रको सार्थकता कायम राख्न राजनीतिक दल, जनप्रतिनिधिमूलक संस्था र राज्य संयन्त्रलाई निष्पक्ष, प्रभावकारी, प्रतिस्पर्धात्मक र उत्तरदायी बनाउन ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

राष्ट्रपति पौडेलले अब प्राप्त उपलब्धिलाई थप सबल र संस्थागत बनाउन सम्पूर्ण राजनीतिक शक्ति विनम्रता, त्याग र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने बताए ।

‘हाम्रा राजनीतिक दल, सरकार र नेतृत्व जनउत्तरदायी, सृजनशील, चरित्रवान र आचरणशील हुनुपर्छ,’ उनले भने, ‘राज्यका संरचना परिणाममुखी र गतिशील बन्नुपर्छ, नागरिकले सुशासनको अनुभूति गर्न पाउनुपर्छ ।’

उनले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै यसको मूल उद्देश्य निमुखा र विपन्न नागरिकलाई न्याय, अवसर र सम्मानपूर्ण जीवन सुनिश्चित गर्नु रहेको बताए ।

राष्ट्रपति पौडेलले लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थामध्ये एक भएको उल्लेख गर्दै नेपालले यसलाई संघीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादका मूल्यद्वारा अझ समृद्ध बनाएको धारणा व्यक्त गरे ।

स्थानीय र प्रदेश सरकारहरूले संविधानअनुसारको जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै उनले संघीय शासन व्यवस्थामार्फत नागरिकले आफ्नै घरआँगनबाट सार्वभौमिकताको अभ्यास गर्न पाएको बताए ।

‘जनताको गुनासो राज्य संयन्त्रमार्फत सम्बोधन गर्ने लोकतान्त्रिक अभ्यासले लोकतन्त्रलाई अझ बलियो बनाएको छ,’ उनले भने, ‘लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता अहिले व्यवहारमै स्थापित भइरहेको छ ।’

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com