काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई केवल राजनीतिक व्यवस्था मात्र नभई राज्य सञ्चालनको समग्र आचरण, मूल्य र जीवनपद्धति को रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनले नागरिकको जीवनमा वास्तविक आशा र भरोसा नजागेसम्म गणतन्त्रको मूल उद्देश्य पूरा हुन नसक्ने स्पष्ट पारे।
१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले नेपाली नागरिकलाई राजनीतिक अधिकार मात्र नभई साझा राष्ट्र निर्माणको अवसर दिएको बताए।
उनका अनुसार गणतन्त्रले देशका सबै जाति, भाषा, धर्म, सम्प्रदाय र क्षेत्रलाई समान रूपमा जोड्दै राष्ट्रिय एकताको आधार निर्माण गरेको छ।
यसलाई उनले राष्ट्र निर्माणको ऐतिहासिक प्रेरणा र जिम्मेवारीको रूपमा व्याख्या गरे।
राष्ट्रपति पौडेलले गणतन्त्रलाई व्यवहारमा उतार्न राजनीतिक निष्ठा, मूल्य र आचरणमा सुधार आवश्यक रहेको बताए।
उनले भने, “गणतन्त्र केवल व्यवस्था होइन, यो जीवनशैली हो। यसको मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्छ।”
उनले राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र नैतिकताको अभ्यास अनिवार्य रहेको उल्लेख गरे।
उनका अनुसार मूल्य र आचरणविहीन परिवर्तनले अपेक्षित परिणाम दिन सक्दैन।
सम्बोधनका क्रममा राष्ट्रपति पौडेलले मुलुकमा हालै भएको निर्वाचनपछि बनेको नयाँ सरकारप्रति विश्वास व्यक्त गरे।
उनले सुशासन, सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार नियन्त्रण र सामाजिक विकासलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले सरकारद्वारा प्रस्तावित संरचनागत सुधार, प्रशासनिक कार्यसूची र आर्थिक नीतिहरूले जनतामा नयाँ आशा जगाउने विश्वास व्यक्त गरे।
राष्ट्रपति पौडेलले ढिलासुस्ती, अनियमितता र बेथितिलाई लोकतन्त्रको प्रमुख चुनौतीका रूपमा उल्लेख गर्दै ती समस्याविरुद्ध सबै एकजुट हुनुपर्ने बताए।
उनले भने, “जबसम्म प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्दैन, तबसम्म हामीले संघर्ष गरेर ल्याएको गणतन्त्रको उद्देश्य पूरा हुन सक्दैन।”
उनका अनुसार लोकतान्त्रिक गणतन्त्रले ‘न्याय सबैलाई र आय विपन्नलाई’ भन्ने मूल लक्ष्य बोकेको छ।
संघीय संरचनामार्फत अधिकार गाउँ–गाउँसम्म पुगेको र यसले लोकतन्त्रलाई अझ सुदृढ बनाएको उनले बताए।
कार्यक्रममा राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका क्रममा जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
साथै, आन्दोलनका क्रममा योगदान दिएका नेता, कार्यकर्ता र नागरिक समाजप्रति आभार व्यक्त गरे।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया