बर्दिया। वैदेशिक रोजगारीका क्रममा रुस गएका बर्दियाका ज्ञानबहादुर थापामगर सम्पर्कविहीन भएपछि उनलाई खोज्दै पुगेकी श्रीमती इन्दिरा थापामगरको पनि रुसमै निधन भएको छ।
श्रीमान्को अवस्थाबारे जानकारी लिन गएकी इन्दिराको हृदयघातका कारण मृत्यु भएपछि परिवारमा गहिरो शोक र आर्थिक संकट छाएको छ।
बर्दियाको बाँसगढी नगरपालिका–४ का ४३ वर्षीय ज्ञानबहादुर थापामगर रोजगारीका लागि रुस पुगेका थिए।
पछि उनीसँग सम्पर्क टुटेपछि परिवारमा चिन्ता बढेको थियो।
श्रीमान्को खोजीका लागि इन्दिरा थापामगर तीन सन्तानसहित रुस पुगेकी थिइन्।
रुसमा पुगेपछि उनी श्रीमान्को अवस्था बुझ्ने प्रयासमा थिइन्।
प्रारम्भिक जानकारीअनुसार ज्ञानबहादुरको निधन भइसकेको पुष्टि भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल फर्कने तयारीमा रहेकै बेला इन्दिरालाई अचानक स्वास्थ्य समस्या देखिएको थियो।
उनलाई स्थानीय अस्पतालमा लगिए पनि उपचारकै क्रममा निधन भएको बताइएको छ।
परिवारका अनुसार इन्दिराको निधन वैशाख ३१ गते उपचारका क्रममा भएको हो।
हालसम्म शव परीक्षण रिपोर्ट सार्वजनिक भएको छैन।
आर्थिक अभावका कारण उनको शव नेपाल ल्याउने प्रक्रिया पनि जटिल बनेको परिवारले जनाएको छ।
इन्दिराका तीन सन्तानमध्ये आठ वर्षीय सौरव थापामगर मुटु सम्बन्धी समस्याबाट पीडित छन्।
आर्थिक कठिनाइका कारण उनको नियमित उपचार रोकिएको परिवारको भनाइ छ।
बुबाको निधनपछि दाहसंस्कारका लागि कुशको शव प्रयोग गरिएको र एक वर्ष नबित्दै आमाको पनि निधन भएपछि परिवार झनै पीडामा परेको जेठा छोरा निरज थापामगरले बताएका छन्।
परिवारका अनुसार आमाले श्रीमान्को खोजी र परिवारको भविष्य सुधार्ने आशामा रुस यात्रा गरेकी थिइन्।
तर दुवैको निधनले तीन सन्तान अनाथजस्तै बनेका छन्।
यो घटनाले वैदेशिक रोजगारीका क्रममा देखिने जोखिम, दलालको प्रभाव र युद्धग्रस्त मुलुकमा नेपाली श्रमिकले भोग्नुपरेका चुनौती पुनः उजागर गरेको छ।
परिवारले नेपाल सरकारमार्फत दुवै जनाको शव स्वदेश ल्याउन र आवश्यक क्षतिपूर्ति तथा सहयोगका लागि कूटनीतिक पहल गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया