काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडमा मध्यपहाडी राजमार्गअन्तर्गत भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

बिहीबार साँझ करिब ६ः५० बजे दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सतलोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो।

advertisement

दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुर हेटौँडाका ४१ वर्षीय नवीन तुलाधर र बर्दिया बाँसगढीका ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। बिहान ५ः३० बजे चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

दुर्घटनालगत्तै अस्थायी प्रहरी पोस्ट बेल्खेतको टोलीले घाइतेहरूको उद्धार गरी दैलेखको राकम कर्णाली आधारभूत अस्पतालमा पुर्‍याएको थियो। प्राथमिक उपचारपछि सबै घाइतेलाई थप उपचारका लागि सुर्खेत रिफर गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

घाइतेमध्ये सिराहा कल्याणपुरका २७ वर्षीय सन्तकुमार साह र जीप चालक बाँके नेपालगञ्जका २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ता गम्भीर अवस्थामा छन्। स्याङ्जा फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेलको टाउको र छातीमा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

जीप कच्ची सडकमा थापामोडबाट कुँजेडातर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com