काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटमा केही महत्वपूर्ण संरचनागत तथा नीतिगत सुधारका प्रयास समेटिएको भए पनि न्यून आय भएका र विपन्न वर्गका नागरिकका समस्या समाधानमा पर्याप्त ध्यान नदिइएको टिप्पणी गरेका छन्।

शनिबार आयोजित नेपाल थारु संघको अधिवेशनलाई सम्बोधन गर्दै थापाले बजेटमा कांग्रेसले लामो समयदेखि उठाउँदै आएका केही सुधारका एजेण्डा समावेश हुनु सकारात्मक पक्ष भएको बताए। यस्ता सुधार कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा प्रतिपक्षको हैसियतबाट कांग्रेसले रचनात्मक सहयोग गर्ने उनको भनाइ थियो।

advertisement

तर बजेटको समग्र दृष्टिकोण र सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले आर्थिक रूपमा कमजोर वर्गका नागरिकको जीवन सहज बनाउनेभन्दा उनीहरूका समस्याप्रति बेवास्ता गरिएको आरोप लगाए।

थापाले मुलुक आर्थिक सुस्तता, बढ्दो महँगी र रोजगारी संकटबाट गुज्रिरहेका बेला न्यून आय भएका नागरिकको दैनिक जीवन थप कठिन बन्दै गएको उल्लेख गरे। यस्तो अवस्थामा राज्यले उनीहरूलाई राहत र संरक्षण दिनुपर्नेमा पर्याप्त संवेदनशीलता नदेखाएको उनको दाबी छ।

सरकारका केही निर्णयले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाएको स्वीकार गर्दै उनले प्रतिपक्षको भूमिका लोकप्रियताको पछि लाग्नु नभई राज्यका स्रोत–साधन र अवसरमा सबै नागरिकको समान पहुँच सुनिश्चित गराउनु भएको बताए।

‘हामी सकारात्मक पक्षको समर्थन गर्छौं, तर जनताको वास्तविक समस्या ओझेलमा पार्न खोजिएको विषयमा प्रश्न उठाउन पनि पछि हट्दैनौं,’ उनले भने।

थापाले सरकारको सोच र प्राथमिकतामाथि प्रश्न उठाउँदै गरिबी न्यूनीकरणका प्रभावकारी कार्यक्रमभन्दा कमजोर वर्गलाई थप दबाबमा पार्ने प्रवृत्ति देखिएको आरोप लगाए। उनले आर्थिक असमानता घटाउने र विपन्न वर्गको जीवनस्तर उकास्ने नीति तथा कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com