झापा । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले नेपालको वास्तविक आवश्यकता र जनजीवनका प्राथमिकतालाई समेट्न नसकेको टिप्पणी गरेका छन् ।
झापामा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री समेत रहेका किरातीले बजेट निर्माणमा देशको सामाजिक–आर्थिक यथार्थभन्दा सीमित वर्गको हितलाई प्राथमिकता दिइएको आरोप लगाए ।
उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति लक्षित गर्दै विदेशमा अध्ययनबाट प्राप्त ज्ञान मात्र पर्याप्त नहुने, नेपालको भौगोलिक, आर्थिक र सामाजिक अवस्थाको गहिरो बुझाइ पनि आवश्यक पर्ने बताए ।
‘यो बजेट सीमित पहुँच र सुविधासम्पन्न वर्गलाई केन्द्रमा राखेर ल्याइएको देखिन्छ,’ उनले भने, ‘ग्रामीण क्षेत्र, किसान र श्रमजीवी वर्गका अपेक्षा सम्बोधन गर्न बजेट असफल भएको छ ।’
नेता सुदन किरातीले विद्युत् महसुल वृद्धि र कृषिक्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूबाट निम्न आय भएका नागरिकहरू थप निराश बनेको दाबी गरे । उनका अनुसार कृषिलाई उत्पादनमुखी र प्रतिस्पर्धी बनाउने ठोस कार्यक्रमको अभाव बजेटमा देखिएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाउने व्यवस्थाप्रति समेत उनले असन्तुष्टि व्यक्त गरे । संविधानले सुनिश्चित गरेका मौलिक हकसँग जोडिएका क्षेत्रहरूमा करको भार थपिनु उचित नहुने उनको तर्क थियो ।
यस्तै, विद्युतीय सवारीसाधनमा कर वृद्धि गर्ने सरकारी नीतिप्रति पनि उनले प्रश्न उठाए । पेट्रोलियम पदार्थमा निर्भरता घटाउन र स्वच्छ ऊर्जाको प्रयोग बढाउनुपर्ने अवस्थामा विद्युतीय सवारीमा थप कर लगाउनु नीतिगत रूपमा उचित नदेखिएको उनको भनाइ थियो ।
किरातीले बजेटले आम नागरिक, किसान र श्रमिक वर्गको अपेक्षाअनुसार राहत तथा प्रोत्साहन दिन नसकेको दाबी गर्दै यसको पुनरावलोकन आवश्यक रहेको बताए ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया