काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रमा देखिएका प्राविधिक तथा प्रशासनिक जटिलताहरू समाधान गर्न दुवै देशका प्राविधिक संयन्त्रहरू सक्रिय रूपमा काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार सीमास्तम्भहरूको मर्मत, दशगजा क्षेत्रको अतिक्रमण पहिचान तथा सीमा पार जग्गा उपयोग (क्रस–बोर्डर अतिक्रमण) सम्बन्धी तथ्यांक संकलनका काम संयुक्त रूपमा अघि बढाइएको छ । लामो समयदेखि रोकिएका यी प्राविधिक कार्यहरू हाल पुनः तीव्र गतिमा अघि बढिरहेको मन्त्रालयको भनाइ छ ।
नेपाल–भारत सीमा व्यवस्थापन ऐतिहासिक सन्धि–सम्झौता र आधिकारिक नक्साका आधारमा हुँदै आएको उल्लेख गर्दै मन्त्रालयले सुगौली सन्धिअनुसार सीमा निर्धारण भए पनि केही क्षेत्रमा अझै स्पष्ट नक्साङ्कन र सीमांकन बाँकी रहेको स्पष्ट पारेको छ ।
प्रारम्भिक अध्ययनहरूले सीमावर्ती केही क्षेत्रमा एक देशको उपयोगमा रहेको भूमि अर्को देशको भूभागमा पर्ने अवस्था देखाएको संकेत गरेको मन्त्रालयले जनाएको छ । यस विषयमा दुवै देशका प्राविधिक टोलीहरू संयुक्त रूपमा विस्तृत अध्ययन र अभिलेख संकलनमा जुटिरहेका छन् ।
परराष्ट्र मन्त्रालयले सीमा सम्बन्धी सबै विषयहरू कूटनीतिक संवाद र आपसी समझदारीमार्फत समाधान गर्ने नेपाल सरकारको प्रतिबद्धता दोहोर्याएको छ ।
प्रकाशित मिति: १७ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया