काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसद आशिका तामाङले प्रश्न उठाएकी छन्। उनले नेपालले भारतको भूमि अतिक्रमण गरेको भनाइको आधार, तथ्य र प्रमाण सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेकी हुन्।

धादिङ क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तामाङले सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गर्दै नेपालले भारतको कुन भूभाग अतिक्रमण गरेको हो भन्ने विषयमा स्पष्ट जानकारी दिन आग्रह गरेकी छन्।

advertisement

‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको छ, त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।

तामाङले आफू लगायत अधिकांश नेपाली नागरिकले हालसम्म भारतले नेपालको भूमि अतिक्रमण गरेको विषयबारे मात्र जानकारी पाउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिपछि नयाँ प्रश्नहरू उठेको बताएकी छन्।

उनले लेखेकी छन्, ‘आजसम्म हामीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य र बहस मात्र सुन्दै आएका थियौँ। तर प्रतिनिधिसभामा प्रधानमन्त्रीले व्यक्त गर्नुभएको धारणापछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ।’

सांसद तामाङले नेपालले भारतको कुन भूभाग कहिले, कसरी र कुन आधारमा अतिक्रमण गरेको हो भन्ने विषयमा प्रमाणसहित तथ्य सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गरेकी छन्।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्तमा बहस सुरु भएको छ भने विभिन्न दलका नेता तथा सांसदहरूले समेत धारणा सार्वजनिक गरिरहेका छन्।

प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com