काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को अध्यक्षमा करुणा कटुवाल नियुक्त भएकी छन्। धनकुटाकी कटुवाललाई सोमबार नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संघको रिक्त अध्यक्ष पदमा मनोनयन गरेका हुन्।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिअनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गतेको निर्णयका आधारमा सभापति थापाले पार्टी विधान–२०१७ (संशोधनसहित) को धारा ४२ (१) (च) अन्तर्गतको अधिकार प्रयोग गर्दै कटुवाललाई अध्यक्ष पदको जिम्मेवारी प्रदान गरेका हुन्।
नवनियुक्त अध्यक्ष कटुवाललाई संगठनको महाधिवेशन सम्पन्न गर्ने प्रमुख जिम्मेवारीसहित ११ बुँदे कार्यादेश र विस्तृत कार्ययोजना हस्तान्तरण गरिएको पनि विज्ञप्तिमा उल्लेख छ। कांग्रेस नेतृत्वले नेविसंघलाई संगठनात्मक रूपमा सक्रिय, सुदृढ र महाधिवेशनमुखी बनाउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरेको जनाएको छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको विरोधमा नेविसंघले सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गरेको छ।
विरोध कार्यक्रममा सहभागी विद्यार्थी नेताहरू राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौरव पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
कांग्रेसले पक्राउ परेका विद्यार्थी नेताहरूलाई बिना सर्त तत्काल रिहा गर्न सरकारसँग माग गर्दै लोकतान्त्रिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया