काठमाडौं । नेपालले पनि भारतको सिमाना मिचेको छ भनी प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रतिकात्मक रूपमा नौलो विरोध प्रदर्शन गरेको छ।
प्रधानमन्त्रीको अराजनीतिक र कूटनीतिक मर्यादाविपरीतको कदम भन्दै नेविसंघले सोमबार माइतीघर मण्डलामा उनलाई कूटनीति, राजनीतिक जिम्मेवारी र राष्ट्रिय भूमिकाका बारेमा प्रतिकात्मक रूपमा प्रशिक्षण दिएको हो।
उक्त अनौठो प्रदर्शनका क्रममा नेविसंघका नेता शंकर तिवारीलाई प्रतिकात्मक रूपमा प्रधानमन्त्री बालेन शाह बनाएर रोष्टममा राखिएको थियो। त्यसपछि नेविसंघका विद्यार्थी नेताहरूले प्रधानमन्त्रीको ‘डमी’ लाई नेपालको सीमा, इतिहास, चुच्चे नक्सा र देशको स्वाभिमानका विषयमा पढाउँदै प्रशिक्षण दिएका थिए।
संसद् जस्तै देखिने गरी रोष्टम खडा गरिएको उक्त प्रदर्शनमा सहभागी विद्यार्थीहरूले प्रधानमन्त्रीको अज्ञानता र गैरजिम्मेवारपनले देशको शिर निहुरिएको भन्दै कडा आक्रोश पोखे।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको जस्तो आशयको अभिव्यक्ति दिएपछि त्यसको विरोधमा यतिबेला सडकदेखि सदनसम्म चौतर्फी विरोध र प्रदर्शन भइरहेको छ। नेविसंघले प्रधानमन्त्रीले तत्काल संसद्मा माफी मागेर राजीनामा दिनुपर्ने माग समेत दोहोर्याएको छ।
प्रकाशित मिति: १८ जेष्ठ २०८३, सोमबार












प्रतिक्रिया