काठमाडौं । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य रोक्न माग गर्दै स्थानीयवासीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन्। विकासको नाममा विनाश गर्न नहुने भन्दै उनीहरूले ‘डोजर आतंक’ बन्द गर्नुपर्ने मागसहित मंगलबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले वीरगञ्जको मेनरोडलाई ‘शहरी मार्ग’का रूपमा कायम गर्नुपर्ने माग पनि अघि सारेका छन्। उनीहरूले “वीरगञ्जबासीलाई न्याय देऊ”, “डोजर आतंक बन्द गर” लगायतका नारा लगाउँदै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए।

advertisement

वीरगञ्ज सडक पीडित संघर्ष समितिका संयोजक कुन्दन रौनियारले दशकौँअघि कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यवसायिक संरचना भत्काउने तयारीले हजारौँ परिवार विस्थापित हुने अवस्था सिर्जना हुने बताए। उनले मुआव्जासम्बन्धी विषयमा सर्वोच्च अदालतमा रिट दायर भए पनि लामो समयदेखि सुनुवाइ नभएको गुनासो गरे।

उनका अनुसार वीरगञ्जको मेनरोडलाई विस्तार होइन, शहरी मार्गका रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता छ।

स्थानीयहरूले विकास परियोजनामा मानवीय पक्षलाई बेवास्ता गरिएको आरोप लगाउँदै उचित क्षतिपूर्ति र वैकल्पिक व्यवस्थाबिना कुनै पनि संरचना नढाल्न सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com