काठमाडौं । श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले पार्टी अध्यक्ष हर्कराज साक्पाङलाई देशको नेतृत्व सम्हाल्ने अवसर दिनुपर्ने बताएका छन्।
मंगलबार उदयपुरको गाईघाटमा सञ्चारकर्मीसँग कुरा गर्दै किरातीले नेपालमा अब बाह्य प्रभाव वा कृत्रिम रूपमा स्थापित नेतृत्वभन्दा नेपाली समाज र माटोसँग प्रत्यक्ष रूपमा जोडिएको नेतृत्वको आवश्यकता रहेको धारणा व्यक्त गरे।
उनले हर्कराज साक्पाङलाई नेपाली समाजबाट स्वाभाविक रूपमा उदाएको नेतृत्वको उदाहरणका रूपमा प्रस्तुत गर्दै यस्ता व्यक्तिलाई मुलुकको कार्यकारी नेतृत्वमा पुर्याउनुपर्ने बताए।
‘अब बाहिरबाट निर्माण गरिएको वा कृत्रिम रूपमा स्थापित नेतृत्व होइन, नेपाली माटोमै हुर्किएको अर्गानिक नेतृत्वलाई अवसर दिनुपर्छ। हर्क साक्पाङजस्ता नेताले देशको नेतृत्व गर्न सक्ने क्षमता राख्छन्,’ किरातीले भने।
उनले लामो समयदेखि राजनीतिको केन्द्रमा रहेका परम्परागत नेतृत्वप्रति जनताको आकर्षण घट्दै गएको र नयाँ पुस्ताले वैकल्पिक नेतृत्वको खोजी गरिरहेको दाबी गरे।
किरातीले पछिल्ला वर्षहरूमा उदाएका केही नयाँ राजनीतिक पात्रप्रति पनि टिप्पणी गर्दै लोकप्रियता मात्रै पर्याप्त नहुने बताए। योजनाबद्ध विकास र जनपक्षीय दृष्टिकोणबिनाको निर्णयले सर्वसाधारणलाई असर पार्ने उनको भनाइ थियो।
यस क्रममा उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पर्याप्त तयारी र योजना बिना गरिएका कदमहरूले निम्न आय भएका वर्गलाई बढी प्रभावित गरेको आरोप लगाए।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया