काठमाडौं। नेपाल–भारत सीमा विवाद र प्रधानमन्त्री बालेन्द्र शाहको संसद्मा व्यक्त अभिव्यक्तिलाई लिएर देखिएको विवादका बीच सरकारले प्रधानमन्त्रीको भनाइ तथ्यमा आधारित रहेको दाबी गरेको छ।
साथै आवश्यक परे उनी पुनः संसद्मा उपस्थित भएर जवाफ दिन तयार रहेको सरकारको स्पष्टोक्ति छ।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत प्रधानमन्त्री संसद्प्रति पूर्ण रूपमा उत्तरदायी रहेको बताए।
उनले आवश्यकता अनुसार प्रधानमन्त्रीले फेरि पनि संसद्मा उपस्थित भएर उठेका प्रश्नहरूको जवाफ दिने बताए।
प्रवक्ता पोखरेलका अनुसार सीमा विवाद सम्बन्धी विषयमा प्रधानमन्त्रीले संसद्मा व्यक्त गरेको धारणा वस्तुगत तथ्य र उपलब्ध प्राविधिक अध्ययनका आधारमा आएको हो।
उनले सीमावर्ती केही क्षेत्रहरूमा दुई देशबीच उपभोग र प्रशासनिक व्यवस्थामा भिन्नता देखिन सक्ने सम्भावना रहेको उल्लेख गर्दै यही यथार्थलाई प्रधानमन्त्रीले उजागर गरेको दाबी गरे।
उनले सीमा व्यवस्थापनसँग सम्बन्धित प्राविधिक तथा कूटनीतिक संयन्त्रहरू लामो समयदेखि सक्रिय रहेको जानकारी दिँदै ती संयन्त्रहरूको अध्ययन र निष्कर्षकै आधारमा यस्ता विषय उठ्ने गरेको बताए।
कतिपय तथ्यहरू प्रारम्भिक रूपमा असामान्य लागे पनि अध्ययनपछि स्पष्ट हुने सरकारको भनाइ छ।
सरकारका अनुसार नेपाल–भारत सीमा सम्बन्धी समस्या समाधानका लागि दुवै देशबीच कूटनीतिक संवाद र प्राविधिक संयन्त्र निरन्तर क्रियाशील छन्।
यस विषयमा विभिन्न तहमा कूटनीतिक पत्राचार (डिप्लोमेटिक नोट) समेत आदानप्रदान भइसकेको प्रवक्ताले जानकारी दिए।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि संसद् र राजनीतिक वृत्तमा देखिएको आलोचनाबीच सरकारले संवेदनशील विषयलाई संवादमार्फत समाधान गर्ने नीति दोहोर्याएको छ।
सीमा विवादलाई द्विपक्षीय संयन्त्रमार्फत ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा टुंग्याउने प्रतिबद्धता सरकारको रहेको बताइएको छ।
सरकारले यो विषयलाई राजनीतिक विवादको रूपमा होइन, प्राविधिक र कूटनीतिक प्रक्रियाबाट समाधान गर्नुपर्ने विषयका रूपमा हेर्न आग्रह गरेको छ।
साथै, दुवै देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन संवाद र आपसी समझदारी आवश्यक रहेको सरकारको धारणा छ।
सीमा विवादलाई लिएर संसद्मा उठेका प्रश्न र सार्वजनिक आलोचनाबीच सरकारले आफ्नो अडान स्पष्ट पार्दै प्रधानमन्त्रीको भनाइलाई आधिकारिक र तथ्यमा आधारित बताएको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया