काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको बैठक दोस्रो दिन पनि अवरुद्ध गरेका छन्। प्रधानमन्त्रीले आफ्नो भनाइ फिर्ता लिएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी सदस्यहरूले मंगलबार पनि सदनमा अवरोध जारी राखेका हुन्।

बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई धारणा राख्न समय दिएका थिए।

advertisement

विरोधका क्रममा प्रतिपक्षी सदस्यहरूले प्रधानमन्त्री शाहको अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय हित र नेपालको स्थापित सीमा सम्बन्धी अडानमा गम्भीर असर पारेको आरोप लगाए। उनीहरूले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने दाबी सत्य हो भने त्यससम्बन्धी प्रमाण संसद्मा प्रस्तुत गर्न सरकारसँग माग गरे।

सदस्यहरूले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर आफ्नो अभिव्यक्तिबारे स्पष्टिकरण दिनुका साथै माफी माग्नुपर्ने धारणा राखेका थिए।

बैठकका क्रममा प्रतिपक्षी सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेप्रति पनि आपत्ति जनाए। नेपाल–भारत सम्बन्धबारे भारतीय सञ्चार माध्यममा प्रकाशित उनको लेखले ऐतिहासिक तथा कूटनीतिक सम्बन्धलाई कमजोर बनाउने प्रयास गरेको उनीहरूको आरोप थियो।

प्रतिपक्षी दलहरूको निरन्तर नाराबाजी र विरोधका कारण बैठकको नियमित कार्यसूची अघि बढ्न नसकेपछि अध्यक्ष दाहालले राष्ट्रिय सभाको बैठक बुधबारसम्मका लागि स्थगित गरेका छन्।

प्रधानमन्त्री शाहको अभिव्यक्तिलाई लिएर संघीय संसद्का दुवै सदनमा राजनीतिक विवाद चर्किँदै गएको छ भने सत्तापक्ष र प्रतिपक्षबीचको टकराव थप तीव्र बनेको छ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com