काठमाडौं। नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने माग पुनः दोहोर्याएको छ।
पार्टीले उक्त अभिव्यक्तिलाई आपत्तिजनक र राष्ट्रिय हितसँग जोडिएको संवेदनशील विषयमा गैरजिम्मेवार टिप्पणीका रूपमा व्याख्या गरेको छ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद अभिषेकप्रताप शाहले प्रधानमन्त्रीले आफ्नो भनाइबारे स्पष्टता दिनुपर्ने र आवश्यक परे माफी माग्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर असहमति रहेको उल्लेख गर्दै त्यसको राजनीतिक र कूटनीतिक प्रभावबारे सरकार सचेत हुनुपर्ने धारणा राखे।
सांसद शाहले प्रधानमन्त्रीको भनाइ तयारीविना आएको हो भने त्यो चिन्ताको विषय भएको बताए।
तर यदि उक्त अभिव्यक्ति सोचविचारपूर्वक र सचेत रूपमा दिइएको हो भने त्यसलाई अझ गम्भीर रूपमा लिनुपर्ने उनको भनाइ थियो।
उनले सीमा सम्बन्धी विषय राष्ट्रिय सुरक्षा, सार्वभौमिकता र कूटनीतिक सम्बन्धसँग प्रत्यक्ष जोडिएको संवेदनशील मुद्दा भएकाले यस्तो विषयमा सरकार प्रमुखबाट आउने अभिव्यक्ति अत्यन्त जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने बताए।
कांग्रेसले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक नगरेसम्म र त्यसबारे आवश्यक सम्बोधन नगरेसम्म संसद्को गतिरोध अन्त्य हुन कठिन हुने संकेत दिएको छ।
सांसद शाहले प्रधानमन्त्रीले माफी नमागेसम्म सदन सहज रूपमा सञ्चालन हुन नसक्ने चेतावनी समेत दिए।
नेपाल–भारत सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर पछिल्ला केही दिनदेखि संसद्मा निरन्तर विरोध भइरहेको छ।
विपक्षी दलहरूले उक्त भनाइ फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गर्दै आएका छन् भने सरकारले भने प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यमा आधारित रहेको बताउँदै आएको छ।
यस विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीचको मतभेद चुलिँदै जाँदा संसद्को नियमित कामकारबाहीसमेत प्रभावित बनेको छ।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया