काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) की सांसद आशिका तामाङले संसद् लगातार तीन दिनदेखि अवरुद्ध भएकोप्रति चिन्ता व्यक्त गर्दै सत्ता पक्ष र प्रतिपक्षबिच राष्ट्रिय हितका विषयमा एकजुट हुनुपर्ने धारणा राखेकी छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सांसद तामाङले यस्तो बताएकी हुन् ।
तामाङले राष्ट्रियताको सवालमा सत्ता र प्रतिपक्षको विभाजनभन्दा माथि उठेर सबै राजनीतिक दलले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने बताइन् ।
उनले संसद्को काम केवल हाजिर गर्ने र भत्ता बुझ्ने मात्र नभई जनताका मुद्दा र देशको विकाससँग सम्बन्धित विषयमा प्रभावकारी छलफल गर्नु पनि भएको उल्लेख गरेकी छन् ।
उनले बजेटमाथिको महत्त्वपूर्ण छलफल हुनुपर्ने बेला संसद् सञ्चालन हुन नसक्दा यसको प्रत्यक्ष असर देशको विकासमा पर्ने बताइन् । ‘देश विकासको मेरुदण्ड मानिने बजेटमाथि नै बहस गर्न नसक्ने अवस्था बनेमा देशले निकास र विकास कसरी पाउँछ ?’ भन्ने प्रश्न उनले उठाएकी छन् ।
तामाङले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै सबै पक्षले आफ्नो अडानमा मात्र अडिग रहने प्रवृत्ति त्याग्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
उनले परिवर्तनका लागि बलिदान दिएका सहिदहरूको योगदान स्मरण गर्दै वर्तमान राजनीतिक नेतृत्वले त्यसको सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गरेकी छन् ।
फेसबुक स्ट्याटसमार्फत उनले सभामुखको भूमिकाप्रति सहानुभूति जनाउँदै संसद् सञ्चालन गर्न चाहँदाचाहँदै पनि परिस्थितिका कारण उहाँले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको देखिएको उल्लेख गरेकी छन् ।
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै तामाङले संसद्मा उपस्थित भई प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ दिन र अवरोध अन्त्यका लागि पहल गर्न आग्रह गरेकी छन् । ‘तपाईँ हाम्रो अभिभावक हो, हामी सबै तपाईँका सन्तान हौँ। कृपया सदनमा आएर प्रतिपक्षका सवालहरूको जवाफ दिनुहोस् र संसद् सञ्चालनको वातावरण बनाइदिनुहोस्,’ उनले लेखेकी छन्।
प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार













प्रतिक्रिया