काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको विवादास्पद अभिव्यक्तिलाई लिएर जारी राजनीतिक गतिरोधका बीच राष्ट्रिय सभा को बैठक पुनः अवरुद्ध भएको छ।
विपक्षी दलहरूको निरन्तर विरोधपछि बुधबारको बैठक कार्यसूचीमा प्रवेश नै नगरी जेठ २६ गतेसम्मका लागि स्थगित गरिएको छ।
बैठक सुरु हुनासाथ विपक्षी सांसदहरूले प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्ति फिर्ता लिनुपर्ने माग गर्दै विरोध जनाएका थिए।
उनीहरूले प्रधानमन्त्रीले संसद्मा आएर स्पष्टिकरण दिनुका साथै अभिव्यक्ति सच्याउनुपर्ने अडान दोहोर्याएका थिए।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सांसदहरूलाई पटक–पटक आफ्ना आसनमा फर्किएर सदन सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए।
तर विपक्षी सांसदहरूले विरोध जारी राखेपछि बैठक सञ्चालन हुन सकेन।
अवरोध हट्ने सम्भावना नदेखिएपछि अध्यक्ष दाहालले बैठक आगामी जेठ २६ गते दिउँसो १:१५ बजेसम्मका लागि स्थगित गरेका हुन्।
यसअघि सोमबार र मंगलबार बसेका राष्ट्रिय सभा बैठकहरू पनि विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका थिए।
बुधबारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल गर्ने कार्यसूची तय गरिएको थियो।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधि सभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्ति दिएका थिए।
उक्त भनाइलाई लिएर प्रमुख विपक्षी दलहरू लगायत विभिन्न राजनीतिक वृत्तबाट आलोचना हुँदै आएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्को अवरोध जारी राख्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया