एजेन्सी । इरानद्वारा प्रहार गरिएका ड्रोन तथा मिसाइलका कारण कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेको छ भने घटनामा केही व्यक्ति घाइते भएका छन्। आक्रमणपछि विमानस्थलको हवाई सेवा अस्थायी रूपमा स्थगित गरिएको छ।
कुवेतको सरकारी समाचार एजेन्सीका अनुसार विमानस्थलको ‘टर्मिनल–१’ क्षेत्रमा आक्रमण भएको थियो। घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने निर्धारित उडानहरू रोकिँदा केही विमानलाई वैकल्पिक गन्तव्यतर्फ मोडिएको थियो।
कुवेत नागरिक उड्डयन प्राधिकरणले मिसाइल प्रतिरक्षाका क्रममा खस्न सक्ने भग्नावशेषबाट सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
कुवेती सेनाले इरानी ड्रोन आक्रमणका कारण विमानस्थलको संरचनामा उल्लेखनीय क्षति पुगेको पुष्टि गर्दै घाइतेहरूको उपचार भइरहेको जनाएको छ। आक्रमणपछि बुधबार बिहानैदेखि हवाई यातायात पूर्ण रूपमा बन्द गरिएको थियो।
कुवेत रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलअजीज अल–ओतैबीले घटनालाई ‘इरानको आपराधिक आक्रमण’ को संज्ञा दिँदै राष्ट्रिय सुरक्षाका सबै संयन्त्र उच्च सतर्कतामा राखिएको बताएका छन्।
इरान–अमेरिका तनाव थप चर्कियो
यसैबीच, अमेरिकी सेनाले इरानमाथि आत्मरक्षात्मक कारबाही गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार होर्मुज जलसन्धि नजिक रहेको केश्म टापुमा गरिएको आक्रमण इरानले क्षेत्रभरि गरिरहेका सैन्य गतिविधिको जवाफस्वरूप गरिएको हो।
सेन्टकमले उक्त कारबाहीमा इरानी सेनाको ग्राउन्ड कन्ट्रोल स्टेसनलाई निशाना बनाइएको र समुद्री मार्ग तथा खाडी क्षेत्रतर्फ लक्षित तीनवटा आक्रमणकारी ड्रोन पनि खसालिएको दाबी गरेको छ।
उता इरानले भने अमेरिकी कारबाहीको प्रतिकारस्वरूप क्षेत्रीय देशहरूमा रहेका अमेरिकी सैन्य अखडा र हेलिकप्टरहरूलाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ।
अमेरिकी सैन्य स्रोतका अनुसार इरानले कुवेततर्फ दुई र बहराइनतर्फ तीन मिसाइल प्रहार गरेको थियो। कुवेततर्फ प्रहार गरिएका मिसाइल लक्ष्यसम्म पुग्नुअघि नै खसेका वा विखण्डित भएका थिए भने बहराइनतर्फका सबै मिसाइल अमेरिका र बहराइनको संयुक्त वायु प्रतिरक्षा प्रणालीले नष्ट गरेको जनाएको छ।
यस घटनापछि इरानी रिभोलुसनरी गार्ड्सले होर्मुज जलसन्धिको सुरक्षामा हस्तक्षेप गरिए त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ।
तेल ट्याङ्करमाथि अमेरिकी कारबाही
यसअघि अमेरिकी सेनाले होर्मुज जलसन्धिमा सञ्चालन गरिरहेको नौसैनिक निगरानी अभियानअन्तर्गत इरानतर्फ गइरहेको बोत्स्वानाको झन्डा फहराएको ‘एमटी लेक्सी’ नामक खाली तेल ट्याङ्करलाई निष्क्रिय बनाएको जनाएको थियो।
सेन्टकमका अनुसार चालक दलले बारम्बार दिइएको चेतावनी र निर्देशन बेवास्ता गरेपछि अमेरिकी सैन्य विमानले जहाजको इन्जिन कक्षमा ‘हेलफायर’ मिसाइल प्रहार गरेको थियो। अमेरिकी सेनाले उक्त कारबाहीको भिडियो फुटेजसमेत सार्वजनिक गरेको जनाएको छ।
मध्यपूर्वमा इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावले क्षेत्रीय सुरक्षा, अन्तर्राष्ट्रिय हवाई यातायात तथा ऊर्जा आपूर्तिमा थप चुनौती सिर्जना गर्ने चिन्ता बढेको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया