काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली ले पार्टीभित्र एकता कायम राख्दै सङ्गठन सुदृढीकरणमा केन्द्रित हुन नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका छन्।

एमालेको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ राष्ट्रिय कार्यशालाको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई चुनौतीको सामना गर्न सक्ने बलियो शक्ति बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन्।

advertisement

उनले एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति प्रतिबद्ध राजनीतिक शक्ति भएको उल्लेख गर्दै अस्थायी चुनौती वा प्रतिकूल परिस्थितिबाट विचलित नहुन आग्रह गरे।

“एमाले देश, शान्ति, विकास, समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी हो। यसले आत्तिने र हरेश खाने काम गर्नु हुँदैन। आँधी चल्नेबित्तिकै ढलिहाल्ने हाम्रो पार्टी होइन,” ओलीले भने।

अध्यक्ष ओलीले पार्टीभित्र प्रतिशोधको भावना राखेर कुनै पनि गतिविधि गर्न नहुने स्पष्ट पार्दै आपसी विश्वास, सहकार्य र सकारात्मक सोचका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले सङ्गठनभित्र देखिएका समस्या र चुनौतीहरूलाई अवसरका रूपमा लिएर पार्टीलाई थप मजबुत बनाउने दिशामा लाग्नुपर्ने धारणा व्यक्त गरे।

उनले पछिल्लो समय पार्टीभित्र र बाहिर विभिन्न खालका भ्रम फैलाउने प्रयास भइरहेको उल्लेख गर्दै कार्यकर्ताहरूलाई त्यस्ता भ्रम चिर्दै नयाँ ऊर्जा, आत्मविश्वास र उत्साहका साथ जनतामाझ परिचालित हुन आग्रह गरे।

“आजको यो कार्यक्रमबाट पार्टीभित्रका भ्रमहरू अन्त्य गर्दै नयाँ विश्वास र जोशका साथ आफ्नो कार्यक्षेत्रमा सक्रिय हुनुपर्छ,” उनले भने।

ओलीले सदस्यता नवीकरण र विस्तार अभियानलाई केवल सङ्ख्या बढाउने अभियानका रूपमा नभई पार्टीलाई जनस्तरसम्म थप सशक्त बनाउने अवसरका रूपमा लिनुपर्ने बताए। उनले नयाँ पुस्ता, युवावर्ग तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकलाई पार्टीसँग जोड्ने गरी अभियान सञ्चालन गर्न निर्देशन दिए।

कार्यशालामा प्रदेश तथा जिल्ला इन्चार्जहरू, भारत प्रवास कमिटीका प्रतिनिधिहरू, प्रदेश कमिटी तथा सो सरहका कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, सङ्गठन विभाग प्रमुख तथा जनसङ्गठनका केन्द्रीय अध्यक्ष र सङ्गठन विभाग प्रमुखहरूको सहभागिता रहेको छ।

एमालेले सदस्यता नवीकरण तथा विस्तार अभियानलाई आगामी दिनमा पार्टी सङ्गठनलाई थप सुदृढ र व्यवस्थित बनाउने प्रमुख अभियानका रूपमा अघि बढाएको जनाएको छ। अध्यक्ष ओलीको आह्वानसँगै पार्टीभित्र एकता, अनुशासन र सङ्गठन विस्तारलाई केन्द्रमा राखेर गतिविधि तीव्र पारिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com