काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवलशमशेर राणा ले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिकता गुमाइसकेको दाबी गरेका छन्। उनले पार्टी विधानअनुसार थपिएको समयसीमा समेत समाप्त भइसकेकाले राप्रपा गम्भीर वैधानिक सङ्कटमा फसेको बताएका छन्।
बुधबार एक अपील जारी गर्दै राणाले राप्रपाको एकता महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको नियमित कार्यकाल गत मंसिर महिनामै समाप्त भएको उल्लेख गरेका छन्। उनका अनुसार त्यसपछि पार्टीले विशेष परिस्थितिलाई ध्यानमा राख्दै कार्यसमितिको कार्यकाल थप ६ महिनाका लागि बढाएको भए पनि उक्त अवधि गत जेठ १९ गते सकिइसकेको छ।
राणाले उपाध्यक्ष हेमजंग गुरुङको संयोजकत्वमा गठित महाधिवेशन सुझाव समितिले निर्वाचन ढिला भए मंसिरभित्र र चाँडो भए जेठ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न सुझाव दिएको स्मरण गराएका छन्। सोही सुझावका आधारमा केन्द्रीय समितिले थप गरेको ६ महिनाको समयावधि समाप्त भइसकेकाले वर्तमान कार्यसमितिको वैधानिक हैसियतबारे गम्भीर प्रश्न उठेको उनको तर्क छ।
उनले पार्टी नेतृत्वले समयमै महाधिवेशन गर्न नसक्दा संगठनभित्र अन्योल र असन्तुष्टि बढ्दै गएको बताए। राणाले महाधिवेशनको प्रक्रिया समयमै अघि नबढाउनु नेतृत्वको असफलता भएको आरोप पनि लगाएका छन्।
अपीलमार्फत उनले अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीमाथि समेत कडा आलोचना गरेका छन्। महाधिवेशनको कार्यतालिका तयार पार्ने जिम्मेवारी आफूलाई दिइएको र आफू त्यसबाट पन्छिएको भन्ने अध्यक्ष लिङ्देनको अभिव्यक्तिलाई उनले “हास्यास्पद” र “दुष्प्रचारपूर्ण” भन्दै खण्डन गरेका छन्।
“महाधिवेशनको तालिका तयार पार्ने जिम्मा मलाई दिइएको र म जिम्मेवारीबाट पन्छिएको भन्ने अध्यक्षको अभिव्यक्ति हास्यास्पद र दुष्प्रचारपूर्ण छ,” राणाले अपीलमा उल्लेख गरेका छन्। उनले आफ्नो कमजोरी अरूमाथि थोपरेर नेतृत्वले जिम्मेवारीबाट उम्किन खोजेको आरोप पनि लगाएका छन्।
राणाका अनुसार अध्यक्षको गैरजिम्मेवार कार्यशैलीका कारण पार्टीको वैचारिक आधार, मूल्य–मान्यता र राजनीतिक विश्वसनीयता कमजोर बन्दै गएको छ। नेतृत्वको अकर्मण्यता र निर्णयहीनताका कारण नेता तथा कार्यकर्ताहरू पार्टी छाड्ने क्रम बढेको उनको दाबी छ।
उनले राप्रपाभित्र विश्वासको सङ्कट गहिरिँदै गएको उल्लेख गर्दै पार्टीका आम नेता–कार्यकर्तालाई नेतृत्वको “भ्रमपूर्ण शब्दजाल” मा नपर्न आग्रह गरेका छन्। साथै उनले राष्ट्रवादी विचारधारामा विश्वास गर्ने शक्ति र व्यक्तिहरूलाई नयाँ राजनीतिक अभियानमा एकजुट हुन आह्वान गरेका छन्।
राणाको यो अभिव्यक्ति राप्रपाभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र नेतृत्वप्रतिको असन्तुष्टिको अर्को सार्वजनिक अभिव्यक्तिका रूपमा हेरिएको छ। पार्टीबाट बाहिरिएपछि उनले नेतृत्वमाथि लगाएका आरोपले राप्रपाको आन्तरिक राजनीतिमा थप बहस सिर्जना गर्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया