काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार डा. शशांक कोइरालासँग भेट गरे। दलको नेतामा आफूलाई सहयोग गर्न आग्रह गरे। शशांक र अर्का नेता रामचन्द्र पौडेलबीच पनि मंगलबार नै भेटवार्ता भयो। वरिष्ठ नेता पौडेलले संसदीय दलको नेतामा आफूलाई सहयोग गर्न शशांकलाई आग्रह गरे।

सत्तासीन कांग्रेसमा दलको नेता बन्न नेताहरू दौडधुपमा छन्। कांग्रेस संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भएकाले पनि संसदीय दलको नेता बन्न नेताहरूबीच तँछाडमछाड चलेको छ। पार्टीको महाधिवेशनलाई झल्को दिने गरी नेताहरू गुट निर्माणमा जुटेका छन्। संसदीय दलको नेता बन्न कांग्रेसका आधादर्जन नेता सक्रिय रूपमा जुटेका छन्। पार्टी सभापति देउवा, वरिष्ठ नेता पौडेल, डा. शशांक कोइराला, डा. शेखर कोइराला, गगन थापा र प्रकाशमान सिंह संसदीय दलको नेता बन्न आन्तरिक तयारीमा जुटेका छन्।

जसमा वर्तमान प्रधानमन्त्री देउवानै छैटौंपटक प्रधानमन्त्री बन्नका लागि निर्वाचन जितेर बालुवाटार उनलाई भेट्न पुगेका नेतासँग आफूलाई संसदीय दलको चुनावमा सहयोग गर्नुस् भन्न भने छुटाउँदैनन्। यद्यपि देउवाले समानुपातिकको नतिजा टुंगिएपछि बन्ने संसदीय दलको नेतामा औपचारिक रूपमै दाबी गर्ने तयारीमा छन्।

उनको एकमात्र उद्देश्य के छ भने अब बन्ने गठबन्धनको सरकारमा उनी पुनः आफू प्रधानमन्त्रीमै बस्न चाहेका छन्। देउवाले संसदीय दलको नेता बन्नका लागि नवनिर्वाचित कांग्रेसका सांसदसँग छलफल र भेटघाट पनि तीव्र बनाएका छन्।

कांग्रेससहितको गठबन्धनबाट ९१ सिटमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको कांग्रेसले ५७ सिट जित हासिल गरेको छ। जसअन्तर्गत संस्थापन तर्फबाट ५० जना निर्वाचनको प्रतिस्पर्धामा थिए तीमध्ये २९ जनाले निर्वाचन जितेका छन्। संस्थापन इतरतर्फ भने शेखर–गगनका २२ जना निर्वाचन लडेकामा १८ जना जितेका छन् भने, शशांक र रामचन्द्र निकटका ६ जनाले निर्वाचन जितेका छन्। प्रकाशमान सिंह निकटका ४ जनाले निर्वाचन जितेका छन्। यसरी हेर्दा पनि वर्तमान प्रधानमन्त्री देउवाले नै संसदीय दलको चुनाव जित्ने आकलन गर्न सकिन्छ।

प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com