काठमाडौं । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग सम्बन्धित सैन्य अधिकार सीमित गर्ने प्रस्ताव पारित गरेको छ। ट्रम्प प्रशासनको इरान नीति र सम्भावित सैन्य हस्तक्षेपप्रति असहमति जनाउँदै प्रतिनिधिसभाले उक्त प्रस्तावलाई २१५ विरुद्ध २०८ मतले अनुमोदन गरेको हो।
प्रस्तावको पक्षमा रिपब्लिकन सांसद थोमस म्यासी, ब्रायन फिट्जप्याट्रिक, टम ब्यारेट र वारेन डेभिडसनले समेत मतदान गर्दै आफ्नै पार्टीको आधिकारिक धारणा विपरीत उभिएका छन्।
केन्टकीका सांसद म्यासीले इरानविरुद्ध कुनै पनि सैन्य कारबाही अघि बढाउनुअघि कंग्रेसको स्वीकृति आवश्यक हुने बताउँदै आएका छन्। मतदानपछि उनले अमेरिकी जनता निरन्तर युद्धबाट थाकिसकेको र बढ्दो इन्धन तथा मलको मूल्यको मारमा परेको टिप्पणी गरे।
पेन्सिलभेनियाका सांसद फिट्जप्याट्रिकले पनि युद्धसम्बन्धी निर्णयहरू कंग्रेसमा छलफल र मतदानमार्फत टुंगो लगाइनुपर्ने धारणा व्यक्त गरे।
न्युयोर्कका डेमोक्र्याट सांसद ग्रेगरी मिक्सले प्रस्ताव पारित हुनु संविधानअनुसार कंग्रेसले आफ्नो जिम्मेवारी निर्वाह गरेको संकेत भएको बताए। उनका अनुसार सबै डेमोक्र्याट सांसदहरूले प्रस्तावको समर्थन गरेका थिए।
यसअघि मे २१ मा मतदानका लागि तय गरिएको प्रस्ताव रिपब्लिकन नेतृत्वले अन्तिम समयमा स्थगित गरेको थियो। आवश्यक मत नपुग्ने डरका कारण मतदान रोकिएको आरोप डेमोक्र्याटहरूले लगाएका थिए।
सभामुख माइक जोन्सनले भने ट्रम्पको युद्ध अधिकार सीमित गर्ने प्रयासले इरानसँग जारी शान्ति वार्तामा असर पर्न सक्ने चेतावनी दिएका छन्। उनले प्रशासनलाई वार्ता सफल बनाउन आवश्यक अधिकार उपलब्ध गराउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभाबाट पारित यो ‘कन्करेन्ट रिजोल्युसन’ प्रभावकारी हुन अब सिनेटबाट पनि अनुमोदित हुनुपर्नेछ। यद्यपि यसलाई राष्ट्रपतिको हस्ताक्षरका लागि भने पठाइने छैन। अमेरिकी सिनेटका अनुसार यस्ता प्रस्तावहरू कानुनी रूपमा बाध्यकारी नहुने भए पनि यसको प्रभावबारे बहस जारी रहेको छ।
प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार












प्रतिक्रिया