काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि निम्तो दिइएको छ। भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा नेपाल आउन आग्रह गरेका हुन्।

भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार लामिछानेले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आवश्यक रहेको उल्लेख गर्दै मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए। जवाफमा प्रधानमन्त्री मोदीले नेपाल भ्रमणप्रति आफ्नो रुचि रहेको र उपयुक्त समयमा नेपाल आउने इच्छा व्यक्त गरेका थिए।

advertisement

ती अधिकारीका अनुसार भारतीय प्रधानमन्त्रीको भ्रमण औपचारिक रूपमा अघि बढाउन नेपाल सरकारको तर्फबाट आधिकारिक निम्तो आवश्यक पर्ने भएकाले त्यसबारे लामिछाने स्वदेश फर्किएपछि थप छलफल हुन सक्नेछ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त भएपछि भारतीय प्रधानमन्त्री मोदीले बधाई सन्देशसहित भारत भ्रमणको निम्तो दिएका थिए। नेपालस्थित भारतीय दूतावासमार्फत पठाइएको उक्त निमन्त्रणालाई प्रधानमन्त्री शाहले सकारात्मक रूपमा लिएको बताइन्छ।

दुवै देशबीच उच्चस्तरीय भ्रमणको तयारी प्रारम्भ भए पनि हालसम्म त्यसले औपचारिक रूप लिन सकेको छैन। भारतीय विदेश सचिव विक्रम मिस्री औपचारिक निमन्त्रणा लिएर नेपाल आउने तयारीमा रहेको चर्चा भए पनि भ्रमण हुन सकेन।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि कम्तीमा एक वर्ष विदेश भ्रमण नगर्ने नीति अपनाउने संकेत दिएका कारण उनको भारत भ्रमण तत्काल हुने सम्भावना कम देखिएको छ। यस्तो अवस्थामा प्रधानमन्त्री मोदीको सम्भावित नेपाल भ्रमणबारे पनि कूटनीतिक वृत्तमा चासो बढेको छ।

नेपालमा नयाँ प्रधानमन्त्री नियुक्त भएपछि पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गर्ने परम्परा लामो समयदेखि रहँदै आएको थियो। यद्यपि पछिल्ला वर्षहरूमा केही प्रधानमन्त्रीहरूले उक्त परम्परा अनुसरण गरेका छैनन्।

प्रधानमन्त्री मोदीले हालसम्म चार पटक नेपालको भ्रमण गरिसकेका छन्। उनी पहिलोपटक सन् २०१४ मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको निमन्त्रणामा नेपाल आएका थिए। त्यस अवसरमा उनले नेपालको संसद्लाई समेत सम्बोधन गरेका थिए।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com