काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक व्यवस्थामा सत्ता र प्रतिपक्षबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक हुने बताउँदै सरकार विपक्षी शक्तिलाई समाप्त पार्ने मानसिकताबाट प्रभावित हुन नहुने बताएकी छन्।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कार्कीले सत्तामा पुगेपछि राजनीतिक प्रतिद्वन्द्वीलाई पूर्ण रूपमा निष्क्रिय बनाउने वा समाप्त पार्ने प्रयास लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने धारणा राखिन्।
उनले वर्तमान प्रधानमन्त्री बालेन शाह तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई विगतका राजनीतिक अनुभव र इतिहासबाट पाठ सिकेर अगाडि बढ्न सुझाव दिइन्। मुलुकको नेतृत्व गरिरहेका नयाँ पुस्ताका नेताहरूले अघिल्ला अनुभव, संघर्ष र ऐतिहासिक पृष्ठभूमिलाई गम्भीरतापूर्वक अध्ययन गरी निर्णय लिनुपर्ने उनको भनाइ थियो।
‘सत्तामा पुगेपछि विपक्षलाई पूर्ण रूपमा समाप्त गरिदिन्छु भन्ने सोच उचित होइन,’ उनले भनिन्, ‘विगतका राजनीतिक अभ्यास र अन्तरिम सरकारका अनुभवबाट पनि धेरै कुरा सिक्न सकिन्छ। त्यसलाई आत्मसात् गरेर अघि बढ्नुपर्छ।’
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले वर्तमान नेतृत्वलाई आफूहरू सधैं युवा र शक्तिशाली अवस्थामा नरहने यथार्थलाई पनि स्मरण गर्न आग्रह गरिन्। सत्ता अस्थायी हुने भएकाले सहिष्णुता, संवाद र सहकार्यको संस्कारलाई बलियो बनाउनुपर्ने उनको जोड थियो।
त्यसैगरी उनले प्रतिपक्षी दलहरूलाई पनि सरकारको हरेक कदममा अवरोध सिर्जना गर्ने वा राजनीतिक रूपमा खुट्टा तान्ने प्रवृत्तिबाट टाढा रहन सुझाव दिइन्। लोकतान्त्रिक प्रणालीमा सरकार र विपक्ष दुवैले जिम्मेवार भूमिका निर्वाह गर्दा मात्र देशको विकास र सुशासन सम्भव हुने उनको भनाइ थियो।
राजनीतिक दलहरूबीचको प्रतिस्पर्धाले लोकतन्त्रलाई सुदृढ बनाउने र मुलुकलाई सही दिशामा अघि बढाउन सहयोग पुग्ने उल्लेख गर्दै कार्कीले नेपालको राजनीतिक नेतृत्वको मुख्य जिम्मेवारी अझै पनि दलहरूमै रहेको बताइन्।
‘देशको नेतृत्व अन्ततः राजनीतिक दलहरूले नै गर्ने हो,’ उनले भनिन्, ‘त्यसैले मैले राजनीतिक दलहरूलाई कहिल्यै कमजोर ठानेको छैन। उनीहरूले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गर्नुपर्छ।’
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार













प्रतिक्रिया