काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणका लागि शुक्रबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा उनी चारदिने भ्रमणका लागि भारत प्रस्थान गरेका हुन्।
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि मन्त्री खनाललाई भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावारले स्वागत गरेका थिए। महावार भारत सरकारको विदेश मन्त्रालयअन्तर्गत नेपाल तथा भुटानसम्बन्धी जिम्मेवारी सम्हाल्दै आएका अधिकारी हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएपछि यो पहिलो उच्चस्तरीय वैदेशिक भ्रमणका रूपमा हेरिएको छ। भ्रमणमा जानुअघि काठमाडौंमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खनालले नेपालका राष्ट्रिय प्राथमिकता तथा द्विपक्षीय हितका विषयलाई केन्द्रमा राखेर भारतीय नेतृत्वसँग छलफल हुने बताएका थिए।
यसैबीच भारतीय विदेश मन्त्रालयले मन्त्री खनालको स्वागत गर्दै नेपाल–भारत सम्बन्धको विशेष महत्वलाई पुनः स्मरण गरेको छ। मन्त्रालयले जारी गरेको सन्देशमा नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै यस भ्रमणले दुई देशबीचको विशेष साझेदारीलाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले आफ्ना भारतीय समकक्षी डा. जयशङ्करसँग औपचारिक द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत सम्बन्धका समग्र आयाम तथा आपसी हितसँग सम्बन्धित विविध विषयमा विस्तृत छलफल हुने जनाइएको छ।
विशेषगरी व्यापार, लगानी, ऊर्जा सहकार्य, सीमा पार पूर्वाधार तथा कनेक्टिभिटी विस्तारका विषयमा वार्ता केन्द्रित रहनेछ। साथै दुई देशका नागरिकबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने उपायबारे पनि विचारविमर्श हुने बताइएको छ।
परराष्ट्रमन्त्री खनालले भ्रमणका क्रममा विभिन्न औपचारिक कार्यक्रम तथा भेटघाट सम्पन्न गर्नेछन्। उनी निर्धारित कार्यक्रम पूरा गरी जेठ २४ गते काठमाडौं फर्कने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया