काठमाडौं । राष्ट्रवादी तथा राजावादी शक्तिहरूलाई एउटै राजनीतिक मोर्चामा आबद्ध गर्ने उद्देश्यसहित दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियान र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान महामन्त्री धवलशमशेर राणाको समूहबीच एकता भएको छ।
शुक्रबार सम्पन्न सहमतिअनुसार दुवै पक्षले राष्ट्रवाद, सनातन मूल्य–मान्यता र राजसंस्थाप्रति आस्थावान शक्तिहरूलाई एकीकृत गर्दै नयाँ राजनीतिक शक्ति निर्माण गर्ने घोषणा गरेका छन्।
एकतापछि जारी अवधारणापत्रमा वर्तमान राजनीतिक शक्तिहरूप्रति असन्तुष्ट मतदाताका लागि वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, राष्ट्रवाद र राष्ट्रिय हितका मुद्दामा साझा धारणा बनाएर अघि बढ्ने दुवै पक्षको सहमति रहेको जनाइएको छ।
नयाँ राजनीतिक शक्तिले सनातन हिन्दु अधिराज्य पुनर्स्थापनाको एजेन्डालाई प्रमुख राजनीतिक मुद्दाका रूपमा अघि सार्ने जनाएको छ। साथै, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेशलाई वैचारिक मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
यसैगरी, विदेशमा रहेका नेपाली मूलका नागरिकलाई लक्षित गर्दै ‘एकपटकको नेपाली, सधैंको नेपाली’ अवधारणाअनुसार दोहोरो नागरिकताको व्यवस्था हुनुपर्ने मागलाई पनि नयाँ राजनीतिक अभियानको प्राथमिक एजेन्डामध्ये एक बनाइएको छ।
यद्यपि, दुवै समूहबीच एकता घोषणा भइसके पनि गठन हुन लागेको नयाँ दलको नाम भने सार्वजनिक गरिएको छैन। पार्टीको नाम, संगठनात्मक संरचना तथा नेतृत्वसम्बन्धी विषयमा थप परामर्शपछि निर्णय गरिने जनाइएको छ।
एकतासँगै राष्ट्रवादी, राजावादी तथा सनातन विचारधारामा विश्वास गर्ने विभिन्न समूहलाई समेटेर व्यापक राजनीतिक मोर्चा निर्माण गर्ने प्रयास अघि बढाइएको दुवै पक्षले बताएका छन्।
प्रकाशित मिति: २२ जेष्ठ २०८३, शुक्रबार












प्रतिक्रिया