काठमाडौं । कर छलीको आशंकामा बीवाइडी विद्युतीय सवारी साधनमाथि अनुसन्धान जारी रहेकै बेला अर्थ मन्त्रालयले रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईसहित ९ जना कर्मचारीलाई जिम्मेवारीमुक्त गरेको छ।
भन्सार यार्डमा सवारी साधन नल्याई चीनतर्फमै गाडीको जाँचपास गरिएको भन्ने सूचनापछि भन्सार प्रमुखसहित सम्बन्धित कर्मचारीहरूलाई जिम्मेवारीबाट हटाई भन्सार विभाग तानिएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाहकार नवीन ढुंगाना का अनुसार यस प्रकरणमा संलग्नता वा लापरबाहीबारे थप अनुसन्धान गर्न उक्त निर्णय गरिएको हो।
उनले अर्थ मन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त टोलीले घटनाको विस्तृत छानबिन गरिरहेको जानकारी दिए। साथै स्वर्णिम वाग्ले दोषी देखिने जो–कोहीमाथि कानुनअनुसार कारबाही गर्न प्रतिबद्ध रहेको पनि बताए।
यसैबीच, सशस्त्र प्रहरी बलले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा बीवाइडी विद्युतीय सवारी साधन सम्बन्धी छानबिनका लागि सरकारले विशेष समिति गठन गरेको छ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहाल ले छानबिन समिति घटनास्थलमै पुगेर तीव्र गतिमा अनुसन्धान अघि बढाइरहेको जानकारी दिएकी छन्।
उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनको संख्या धेरै भएकाले राजस्व, भन्सार तथा आयात प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजातको सूक्ष्म अध्ययन, प्रमाणीकरण र कानुनी परीक्षण गर्न केही समय लाग्न सक्नेछ।
यो प्रकरणले हाल भन्सार प्रशासन, राजस्व संकलन प्रणाली तथा विद्युतीय सवारी आयात प्रक्रियामाथि व्यापक चासो र बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: २३ जेष्ठ २०८३, शनिबार













प्रतिक्रिया