काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीको हालैको कार्यविभाजन र संगठन सञ्चालन शैलीप्रति सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका छन्। उनले पार्टीभित्र निर्णय प्रक्रिया, कार्यकर्ताको भूमिका र आन्तरिक लोकतन्त्रबारे प्रश्न उठाउँदै नेतृत्वको कार्यशैलीमाथि व्यंग्यात्मक टिप्पणी गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूलाई खगोलशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, प्राणीविज्ञानदेखि अङ्कगणित, बीजगणित, रेखागणित र इन्जिनियरिङजस्ता विषयको ज्ञान नभएको उल्लेख गरेका छन्। तर एमालेको पछिल्लो कार्यविभाजन हेर्दा पार्टीभित्र सोच्ने, विश्लेषण गर्ने र नीति निर्माणमा योगदान दिने भूमिका कार्यकर्ताको नभएजस्तो अनुभूति भएको उनले संकेत गरेका छन्।
बास्कोटाले एमालेको संगठनात्मक संरचनालाई सैनिक संगठनसँग तुलना गर्दै कार्यकर्ताहरूलाई केवल माथिबाट आएको आदेश पालना गर्ने र राजनीतिक संघर्षमा खटिने भूमिकामा सीमित गर्न खोजिएको हो कि भन्ने प्रश्न गरेका छन्।
उनको भनाइमा, यदि पार्टीभित्र स्वतन्त्र सोच, बहस, आलोचना र विवेक प्रयोग गर्ने वातावरण कमजोर बन्दै जाने हो भने संगठनलाई देशको पहिलो राजनीतिक शक्तिका रूपमा स्थापित राख्न कठिन हुन सक्छ।
व्यंग्यात्मक शैलीमा कृत्रिम बौद्धिकता (एआई) लाई प्रश्न गर्दै उनले लेखेका छन्, ‘मलाई न एस्ट्रोनोमी थाहा छ, न फिजिक्स, न केमेस्ट्री, न बायोलोजी, न जुओलोजी। अङ्कगणित, बीजगणित, ज्यामिति वा इन्जिनियरिङको पनि कुनै ज्ञान छैन। तर एमालेको कार्यविभाजन हेर्दा यस्तो लाग्छ—हाम्रो काम सोच्ने होइन, आदेश पालना गर्ने र लड्ने मात्र हो, सैनिक संगठनमा जस्तै। म एआईलाई सोध्छु, एमाले पहिलो पार्टी कसरी बन्छ ?’
बास्कोटाको यो अभिव्यक्तिलाई एमालेभित्रको कार्यशैली र संगठनात्मक अभ्यासप्रतिको असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया