वाशिङटन डीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एनबीसी न्युजको ‘मिट द प्रेस’ अन्तर्वार्ताको बिचमै रिसाएर हिँडेका छन् ।
सन् २०२० को चुनावमा धाँधली भएको आधारहीन दाबी र ६ जनवरीको दंगासम्बन्धी प्रश्नहरूमाथि पत्रकार क्रिस्टिन वेल्करसँग चर्को विवाद भएपछि ट्रम्पले अन्तर्वार्ता छोडेका हुन् ।
ट्रम्पले एनबीसी र पत्रकारलाई भ्रष्ट भन्दै आक्रोश व्यक्त गरे र कुनै ठोस प्रमाणबिना चुनावमा धाँधली भएको दाबी दोहोर्याए ।
अन्तर्वार्ता चलिरहेको बेला वेल्करले क्यालिफोर्नियाको गभर्नर चुनाव प्रक्रिया र मतगणनाबारे प्रश्न गर्दा ट्रम्पले त्यसलाई अस्वीकार गर्दै पत्रकारमाथि नै आक्रोश पोखेका थिए ।
उनले ‘तँ या त भ्रष्ट छस् कि मूर्ख छेस्’ भनेर टिप्पणीसमेत गरे ।
वेल्करले प्रमाण मागेपछि ट्रम्पले कुनै ठोस प्रमाण प्रस्तुत नगरी चुनावमा धाँधली भएको दाबी दोहोर्याए ।
पछि ट्रम्पले ‘मलाई पुग्यो’ भनेर माइक्रोफोन उतारेर अन्तर्वार्ता बिचमै छाडे ।
त्यसपछि वेल्करले ट्रम्पलाई अन्तर्वार्ताकै लागि भनेर आफू विस्कन्सिन आएको कुरा सम्झाइन् ।
यसको जवाफमा ट्रम्पले ‘म तिमीसँग एक घण्टादेखि झरीमा बसिरहेको छु, पानी पर्दै रोकिँदै गरिरहेको छ ।
मैले त तिमीलाई पर्याप्त समय दिइसके । तिमीले आफ्नो प्रेसलाई सिधा गर्नुपर्छ’ भनेर हिँडे ।
अन्तर्वार्ता चलिरहँदा ट्रम्पले ६ जनवरी २०२१ मा भएको अमेरिकी क्यापिटल भवन आक्रमणमा दोषी ठहरिएका व्यक्तिहरूबारे पनि विवादास्पद टिप्पणी गरेका थिए ।
उनले ती व्यक्तिहरूलाई सङ्घीय अनुसन्धान निकाय (एफबीआई) ले भवनमा प्रवेश गर्न उत्साहित गरेको जस्तो आधारहीन दाबी गरेका थिए ।
साथै, उनीहरूले कडा सजायको डरले दोष स्वीकार गरेको बताएका थिए ।
ट्रम्प आफैँले प्रस्ताव गरेको ‘एन्टी–वेपनाइजेशन फन्ड’ अन्तर्गत ती व्यक्तिहरूलाई क्षतिपूर्ति दिने सम्भावनाबारे सोध्दा उनले स्पष्ट जवाफ दिन मानेनन् ।
एनबीसी न्युजले ट्रम्पको अचानक अन्तर्वार्ता छोडाइबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।
प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार













प्रतिक्रिया