काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक बहस, संगठनात्मक चुनौती तथा पार्टीको भावी दिशाबारे छलफल गर्न संस्थापनइतर पक्षसँग निकट युवा नेताहरूले बृहत् युवा भेला आयोजना गर्ने तयारी गरेका छन्।

युवा नेताहरूको पहलमा आगामी जेठ ३० गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको हो। भेलामार्फत पार्टीभित्र देखिएका विभिन्न विषयमा खुला छलफल गर्दै संगठनलाई थप सशक्त र एकताबद्ध बनाउने विषयमा धारणा आदानप्रदान गरिने जनाइएको छ।

advertisement

युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार पार्टीको वर्तमान अवस्था, नेतृत्व तहमा देखिएका मतभेद, संगठन सुदृढीकरणका उपाय तथा युवाको भूमिकाबारे विस्तृत छलफल गर्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।शाहीले कांग्रेसभित्र पछिल्लो समय विभिन्न विषयमा बहस बढिरहेका बेला युवाहरूको साझा धारणा निर्माण आवश्यक रहेको बताए।
नेता शाहीका अनुसार भेलामा पार्टीको आन्तरिक विवादलाई कसरी समाधान गर्न सकिन्छ, संगठनलाई कसरी थप गतिशील बनाउने तथा आगामी राजनीतिक चुनौतीहरूको सामना गर्न युवाहरूले खेल्नुपर्ने भूमिकाका विषयमा समेत गहन छलफल हुनेछ।

शाहीले कांग्रेसको शक्ति पार्टीको एकता र संगठनात्मक मजबुतीमा रहेको उल्लेख गर्दै युवाहरूले विभाजनभन्दा एकतालाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले पार्टीलाई आगामी दिनमा प्रभावकारी रूपमा अघि बढाउन नयाँ सोच, ऊर्जा र कार्ययोजनाको आवश्यकता रहेको बताएका छन ।

भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवा नेता तथा कार्यकर्ताहरूको समेत उल्लेखनीय सहभागिता रहने आयोजकहरूको अपेक्षा छ। कार्यक्रममा विभिन्न जिल्लाबाट आएका युवाहरूले पार्टीभित्र देखिएका समस्या, सुधारका सम्भावना तथा भावी रणनीतिबारे आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ।

काठमाडौंको चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजेदेखि सुरु हुने उक्त भेलाले कांग्रेसभित्र युवाहरूको राजनीतिक सक्रियता र संगठनात्मक बहसलाई थप गति दिने अपेक्षा गरिएको छ। साथै, भेलाबाट पार्टीलाई थप एकताबद्ध, प्रभावकारी र जनमुखी बनाउने सम्बन्धमा साझा निष्कर्ष निकाल्ने प्रयास गरिने बताइएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com