काठमाडौं । संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा सत्ता र विपक्षी दलबीच जारी छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्रीको लिखित जवाफ प्रतिनिधिसभामा परराष्ट्रमन्त्रीमार्फत प्रस्तुत गरिनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
सिंहदरबारस्थित संसद् भवनमा भइरहेको छलफलका क्रममा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहको नाममा आउने लिखित जवाफ परराष्ट्रमन्त्री शिशिर खनालले पढ्दा उपयुक्त हुने धारणा राखेका हुन् । उनीहरूले प्रधानमन्त्रीको जवाफबारे स्पष्टता र पारदर्शिता सुनिश्चित गर्नुपर्ने मागसमेत गरेका छन् ।
तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भने सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनाल स्वयंले जवाफ दिनुपर्ने अडान लिएका छन् ।
स्रोतका अनुसार, विपक्षी दलहरूले प्रधानमन्त्रीको भनाइको आधिकारिक जवाफ संसद्मा प्रस्तुत हुनुपर्ने भन्दै त्यसको पूर्ण विवरण आफूहरूले पहिले हेर्न पाउनुपर्ने मागसमेत राखेका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी दिएको अभिव्यक्तिपछि विपक्षी दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् । सोही विवाद समाधानका लागि अहिले दलहरूबीच छलफल जारी छ ।
छलफलमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तथा रास्वपाका शीर्ष नेताहरू सहभागी छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया