काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले सरकारविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र हिलो छ्याप्ने प्रयास भइरहेको टिप्पणी गरेका छन्। उनले केही समूहहरू सक्रिय रूपमा सरकारको सुशासन अभियानलाई कमजोर पार्ने प्रयासमा लागेको दाबी गरे।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले हाल देशकै इतिहासमा सबैभन्दा ठूलो भनिएको वित्तीय अपराधसम्बन्धी छानबिन अघि बढिरहेको जानकारी दिए। उक्त छानबिन अन्तिम निष्कर्षतर्फ पुग्दै गएको उनले बताए।
उनका अनुसार छानबिनमा संलग्न रहेका व्यक्तिहरू छिट्टै कानुनी दायरामा ल्याइनेछ। उनले देशको राजनीति र राजनीतिक दलहरूको प्रणालीलाई नै प्रभावित पार्ने गतिविधिहरूमा संलग्न समूहहरू अझै सक्रिय रहन सक्ने भन्दै सतर्क रहनुपर्ने आवश्यकता औंल्याए।
अर्थमन्त्री स्वर्णिम वाग्ले ले केही विषयलाई मात्र उचालेर सरकारमाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए। सुशासनको एजेन्डा लिएर अघि बढेको सरकारलाई लक्षित गरी विभिन्न आरोपहरू लगाइएको उनको भनाइ थियो।
उनले करका दरसम्बन्धी विषयमा उठाइएका प्रश्नहरू पनि ठोस आधारबिना आएको दाबी गरे। ती आरोपहरू प्रारम्भिक चरणमै खण्डित हुने प्रकृतिका रहेको उनले स्पष्ट पारे।
वाग्लेले सरकार नियतका हिसाबले पूर्ण रूपमा स्पष्ट रहेको र सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरे। उनले निराधार आरोपहरूले सरकारको कामकारबाही प्रभावित गर्न नहुने बताए।
उनले थपे कि “सेतो कपडामा हिलो छ्यापिएपछि केही न केही दाग बाँकी रहन सक्छ” भन्ने उदाहरण दिँदै गलत आरोपहरूले सरकारको छवि धुमिल पार्ने प्रयास भइरहेको हुनसक्ने आशंका व्यक्त गरे।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया