काठमाडौं। प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढा ले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई शब्दमा मात्र समेटिएको तर व्यवहारमा पर्याप्त प्राथमिकता नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।

बुधबार अर्थ समितिको बैठकमा बोल्दै सांसद बुढाले बजेट वक्तव्यमा कर्णालीका विभिन्न आयोजना उल्लेख गरिए पनि तिनका लागि आवश्यक बजेट विनियोजन नगरेको आरोप लगाए। उनले कर्णालीलाई योजनागत रूपमा समेटिए पनि रकम विनियोजनमा उपेक्षा गरिएको टिप्पणी गरे।

advertisement

उनका अनुसार कर्णाली राजमार्गका लागि विगतमा ९८ करोड रुपैयाँ विनियोजन गरिएको भए पनि यस वर्ष करिब दुई करोड रुपैयाँ मात्रै थपेर कुल बजेट एक अर्बमा सीमित गरिएको छ। उनले यो व्यवस्था पर्याप्त नभएको भन्दै पुनर्विचार गर्न अर्थमन्त्रीलाई आग्रह गरे।

सांसद बुढाले ४१७ मेगावाट क्षमताको नलसिंहगाड जलविद्युत आयोजनाबारे पनि बजेटमा “अध्ययन गरिने” मात्र उल्लेख गरिएकोप्रति आपत्ति जनाए। डीपीआर सम्पन्न भइसकेको र स्थानीय तहमा मुआब्जासमेत वितरण भइसकेको अवस्थामा पनि कार्यान्वयनतर्फ नजाँदा निराशा बढेको उनले बताए।

त्यस्तै, भेरी करिडोरका लागि समेत पर्याप्त बजेट विनियोजन नभएको भन्दै उनले कर्णालीका सम्भावनायुक्त आयोजनाहरू निरन्तर उपेक्षित हुँदै गएको आरोप लगाए।

बजेटमा समेटिएको दुई करोड रुपैयाँभन्दा बढी लगानी गर्ने किसानलाई प्रोत्साहन गर्ने व्यवस्थाप्रति टिप्पणी गर्दै उनले कर्णालीको वास्तविकता फरक रहेको बताए। “मेरो कर्णालीमा आजसम्म ठूलो उद्योग छैन, किसानले दुई लाख रुपैयाँ लगानी गर्न पनि कठिन छ, उनले भने, त्यस्तो अवस्थामा दुई करोड लगानी गर्ने किसान कहाँ छन् भन्ने प्रश्न उठ्छ।

उनले प्रस्तुत बजेट किसानमैत्री, सीमान्तकृत समुदायमैत्री र कर्णालीजस्ता पिछडिएका क्षेत्रमैत्री हुन नसकेको निष्कर्ष समेत निकाले।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com