काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओली ले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय संसद्मा उठाएपछि सामाजिक सञ्जालमार्फत आफूलाई ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमणको धम्की आइरहेको बताएकी छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ओलीले नेपालमा बहुसंख्यक सनातनी समुदायको बसोबास रहेको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अधिकारअनुसार नेपाल सनातन राज्य हुनुपर्ने विषय आफूले उठाएको बताइन्। उक्त अभिव्यक्तिपछि योजनाबद्ध रूपमा विभिन्न किसिमका धम्कीहरू प्राप्त भइरहेको उनको दाबी थियो।
उनले सामाजिक सञ्जालमार्फत निरन्तर ज्यानमार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने चेतावनी आइरहेको भन्दै यसप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।
सांसद ओलीले यस्ता धम्की व्यक्तिगत रूपमा आफूले सामना गर्न सक्ने भए पनि यसलाई आफूविरुद्धको मात्र नभई सनातन धर्ममाथिको प्रहारका रूपमा लिएको बताइन्। धर्मनिरपेक्षताका नाममा यस्ता गतिविधि हुनु दुःखद भएको उनको भनाइ थियो।
बैठकमा उनले आफ्नो सुरक्षाका साथै अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह समेत गरिन्।
प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार













प्रतिक्रिया