काठमाडौं। स्वीडेनस्थित शान्ति तथा सुरक्षा अध्ययन संस्था स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी) को पछिल्लो प्रतिवेदनले भारतले पहिलो पटक १२ वटा आणविक हतियार तैनाथ अवस्थामा राखेको जनाएको छ। यसअघि भारतका सबै आणविक हतियार भण्डारणमै सीमित थिए।

सिपरीका अनुसार सन् २०२६ को सुरुवातसम्म भारतसँग कुल १९० वटा आणविक हतियार रहेका छन्, जसमध्ये १७८ वटा भण्डारणमा र १२ वटा सक्रिय तैनाथीमा छन्। गत वर्ष भारतसँग १८० वटा आणविक हतियार रहेको प्रतिवेदनमा उल्लेख छ।

advertisement

रक्षा विश्लेषक राहुल बेदी का अनुसार तैनाथ गरिएका हतियारहरू भारतका आणविक पनडुब्बीमा राखिएको हुनसक्ने अनुमान छ। यद्यपि यसबारे भारत सरकारले औपचारिक पुष्टि गरेको छैन।

प्रतिवेदनले भारतले आणविक हतियारका लागि आवश्यक सामग्री उत्पादन र हतियार आधुनिकीकरणलाई तीव्र बनाएको उल्लेख गरेको छ। विशेषगरी चीनसम्म पुग्न सक्ने लामो दूरीका प्रहार प्रणाली विकासमा भारत केन्द्रित रहेको जनाइएको छ।

सिपरीका अनुसार भारतसँगै अमेरिका, रुस, चीन, बेलायत, फ्रान्स, पाकिस्तान, उत्तर कोरिया र इजरायलसहित विश्वका नौ आणविक शक्ति सम्पन्न राष्ट्रसँग सन् २०२६ को सुरुवातमा करिब १२ हजार १८७ वटा आणविक हतियार रहेका छन्। तीमध्ये ४ हजारभन्दा बढी हतियार सैन्य तैनाथीमा छन् भने करिब २ हजार २०० हतियार उच्च सतर्कताको अवस्थामा राखिएका छन्।

प्रतिवेदनले विश्व नयाँ आणविक प्रतिस्पर्धाको चरणमा प्रवेश गरिरहेको चेतावनी दिँदै आणविक हतियारसम्बन्धी पारदर्शिता घट्दै गएको र हतियार नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्र कमजोर बन्दै गएको उल्लेख गरेको छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com