काठमाडौं। नेपाली कांग्रेसका सचेतक निश्कल राई ले आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयमा गम्भीर छानबिनको माग गरेका छन्।
प्रतिनिधिसभामा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा बोल्दै उनले संसदमा पेश भइसकेको आर्थिक विधेयकमा करका दर पटक–पटक परिवर्तन हुनु गम्भीर विषय भएको बताए। राईका अनुसार यस्तो कार्य सामान्य प्रशासनिक त्रुटि नभई गम्भीर प्रकृतिको हो र यसले संसदको अधिकारमाथि हस्तक्षेप भएको देखिन्छ।
उनले करका दर परिवर्तनको पछाडि कसको स्वार्थ र प्रभाव काम गरेको हो भन्ने विषय सार्वजनिक गर्न सरकारसँग माग गरे। सचेतक राईले भने, ‘करका दरमा हेरफेर गर्ने अक्षम्य गल्ती किन र कसको स्वार्थमा भएको हो भन्ने प्रश्न उठेको छ। यसको जवाफ सम्बन्धित पक्षले दिनुपर्छ।’
उनले संसदमा पेश भइसकेको विधेयकलाई प्रक्रिया मिचेर परिवर्तन गर्नु कुनै पनि हालतमा स्वीकार्य नहुने भन्दै यसलाई लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासविपरीतको कदमका रूपमा व्याख्या गरे।
साथै, उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया