काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारको गैरजिम्मेवार भूमिकाका कारण आफ्नो दलले संसद् अवरोधको शैली परिवर्तन गर्दै सदनको प्रक्रियामा सहभागी हुने निर्णय गरेको बताएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महरले एमालेले आफूलाई जिम्मेवार, सशक्त र रचनात्मक प्रतिपक्षका रूपमा प्रस्तुत गरिरहेको बताए। उनले लोकतान्त्रिक व्यवस्थाको संरक्षण र सुदृढीकरणमा आफ्नो पार्टीको विशेष जिम्मेवारी रहेको उल्लेख गरे।
‘हामी यो व्यवस्थाका निर्माता हौँ, केवल उपभोक्ता होइनौँ,’ उनले भने, ‘व्यवस्थाको मर्यादा र संस्थागत मजबुतीका लागि हामी अझ बढी जिम्मेवार बन्नुपर्छ। सरकार भने आफ्नो जिम्मेवारीबाट च्युत भएको देखिन्छ। त्यसैले हाम्रो मूल मुद्दा यथावत् राख्दै संसद्को नियमित प्रक्रियामा सहभागी भएका हौँ।’
महरले आफ्नो पार्टीले उठाएको विषय कुनै पनि हालतमा नछोड्ने स्पष्ट पारे। उनका अनुसार उक्त मुद्दा संसद् तथा अन्य राजनीतिक मञ्चहरूमा निरन्तर उठाइनेछ र आवश्यक परे थप राजनीतिक कदमसमेत चालिनेछ।
‘हामी अहिले पनि छलफलको प्रक्रियामै छौँ। यो सामान्य विषय होइन,’ उनले भने, ‘एउटा सार्वभौम राष्ट्रको कार्यकारी प्रमुखले आफ्नै देशले अर्को मुलुकको भूमि अतिक्रमण गरेको भन्ने अभिव्यक्ति दिनु गम्भीर विषय हो, जसलाई सामान्य रूपमा लिन सकिँदैन।’
उनले एमालेले विरोधका लागि मात्र विरोध नगरेको जिकिर गर्दै सरकारका गतिविधिमाथि जवाफदेहिता सुनिश्चित गर्न खोजिएको बताए।
महरले अर्थमन्त्रीसँग जोडिएका विवादहरूको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन आवश्यक रहेको धारणा पनि व्यक्त गरे। सार्वजनिक रूपमा उठेका प्रश्नहरूको यथोचित जवाफ र सत्यतथ्य बाहिर ल्याउन संसदीय अनुसन्धान प्रभावकारी माध्यम हुने उनको भनाइ थियो।
प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार













प्रतिक्रिया