काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा बागमती प्रदेश सभापति पदका उम्मेदवार डा. अच्युतम लामिछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ नीति लागू गर्नु उपयुक्त नहुने धारणा व्यक्त गरेका छन्।
शनिबार काठमाडौंमा जारी रास्वपा बागमती प्रदेश अधिवेशनका क्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो व्यवस्था लागू भएमा पार्टीका वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक यात्रा सीमित हुने जोखिम रहने बताए।
उनका अनुसार ‘एक व्यक्ति, एक पद’ नीतिले पार्टीका सक्रिय नेता–कार्यकर्तालाई निरुत्साहित गर्दै उनीहरूको भूमिकालाई कमजोर बनाउन सक्छ। उनले पार्टीलाई शैक्षिक संस्थासँग तुलना गर्दै राजनीतिक नेतृत्व निर्माणको प्रक्रिया संगठनभित्रैबाट विकसित हुनुपर्ने धारणा राखे।
लामिछानेले पार्टीभित्र विचार, बहस र राजनीतिक विमर्शमार्फत नेतृत्व उत्पादन हुने प्रक्रिया महत्वपूर्ण हुने उल्लेख गर्दै त्यही प्रक्रियाबाट सक्षम व्यक्तिहरू जनप्रतिनिधिका रूपमा अघि बढ्ने बताए।
उनले आफू केवल पाँच वर्षका लागि सांसद बन्न मात्र राजनीतिमा नआएको स्पष्ट गर्दै पार्टीका विभिन्न पदहरूलाई राजनीतिक यात्राका चरण वा ‘स्टेपिङ स्टोन’ का रूपमा बुझ्नुपर्ने बताए। साथै, पार्टीमा रहेका पदाधिकारीहरू नै संसदमा पनि जिम्मेवारी सम्हालिरहेको उदाहरण प्रस्तुत गरे।
रास्वपाभित्र सांसदहरूलाई प्रदेश सभापति बन्नबाट रोक्ने प्रयासप्रति उनले असन्तुष्टि जनाएका हुन्। ‘एक व्यक्ति, एक पद’ अवधारणालाई लिएर देखिएको विवादका कारण यसअघि अधिवेशन स्थगित भए पनि अहिले काठमाडौंमा पुनः प्रक्रिया अघि बढाइएको छ।
हाल जारी अधिवेशनबाट बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया चलिरहेको छ। मतदानमार्फत पहिलो चरणमा प्रदेश सभापति र सदस्य चयन गरिने तथा त्यसपछि अन्य पदाधिकारी चयन गरिने जनाइएको छ।
प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछानेसहित उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्। लामिछाने हाल पनि बागमती प्रदेश सभापतिकै जिम्मेवारीमा रहेका छन्।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार












प्रतिक्रिया