काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र विधि, पद्धति र संगठनात्मक अनुशासन कमजोर बन्नुमा आफू मात्र जिम्मेवार नरहेको बताएका छन्। उनले पार्टीमा देखिएको संकटको समाधान सामूहिक प्रयासबाट खोज्नुपर्ने उल्लेख गर्दै केही नेताले सम्पूर्ण दोष आफूलाई थोपरेर जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाएका छन्।
शनिबार चुनावी समीक्षा तथा पुनर्गठन कार्यदलको बागमती प्रदेशस्तरीय भेलापछि आफ्नै निवास गुण्डुमा प्रदेश तथा केही केन्द्रीय नेतासँगको छलफलमा ओलीले यस्तो धारणा राखेका हुन्।
बागमती भेलामा केही नेताहरूले नेतृत्व परिवर्तनको आवश्यकता औँल्याउँदै ओलीको बिदाइको माग गरेका थिए। त्यसतर्फ संकेत गर्दै उनले पुनर्गठनका नाममा पार्टीलाई अस्थिर बनाउने प्रयास स्वीकार्य नहुने बताएका थिए।
छलफलमा सहभागी एक नेताका अनुसार ओलीले भने, ‘पुनर्गठनका नाममा पार्टीलाई तलमाथि पार्ने काम हुनु हुँदैन। केही व्यक्तिहरू व्यक्तिगत स्वार्थबाट प्रेरित देखिएका छन्।’
करिब डेढ घण्टा चलेको भेटघाटमा ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेल तर्फ संकेत गर्दै पार्टी सञ्चालनको जटिलता अझै पूर्ण रूपमा नबुझेको टिप्पणी समेत गरेका थिए।
उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘उहाँहरूले पार्टी कसरी चल्छ भन्ने कुरा विस्तारै बुझ्नुहुन्छ। अर्को अध्यक्ष आए पनि उसलाई कति दिन टिक्न दिइन्छ भन्ने विषय पनि सोच्नुपर्छ।’
ओलीले पार्टी पुनर्संरचना भनेको केवल व्यक्ति हेरफेरको विषय नभई समग्र कार्यशैली, संगठनात्मक संस्कार तथा निर्णय प्रक्रियामा सुधार ल्याउने अभियान भएको बताए। उनले विगतमा विधि र पद्धति कार्यान्वयनमा कमजोरी भएको स्वीकार गर्दै त्यसलाई सच्याएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘केही व्यक्तिलाई हटाएर वा सारेर मात्र पार्टी पुनर्संरचना हुँदैन। हाम्रो कार्यशैली, विधि र पद्धतिमा आएको शिथिलतालाई सुधार्नु आवश्यक छ।’
ओलीले पार्टीभित्र देखिएका कमजोरीहरूको जिम्मेवारी सम्पूर्ण नेतृत्वपंक्तिले साझा रूपमा लिनुपर्ने धारणा राखे। उनका अनुसार विधि र पद्धति कमजोर बन्नुमा अध्यक्ष मात्र होइन, शीर्ष तहका अन्य नेताहरू पनि उत्तिकै जिम्मेवार छन्।
स्रोतका अनुसार , ‘कमजोरीको जिम्मा एउटै व्यक्तिले होइन, सम्पूर्ण कमिटी र नेतृत्वले लिनुपर्छ। विधि र पद्धति कमजोर हुँदा विष्णु, शङ्कर र अन्य नेताहरू पनि जिम्मेवार छन्।’
उनले विगतमा आफ्नो प्रत्येक निर्णयलाई समर्थन गर्ने नेताहरू अहिले आलोचनामा उत्रिएको भन्दै असन्तुष्टि व्यक्त गरे। वडा अध्यक्षको टिकट वितरणदेखि अन्य निर्णयसम्ममा आफूलाई पूर्ण समर्थन गर्ने नेताहरू अहिले फरक धारणा लिएर आएको उनको संकेत थियो।
ओलीले पार्टीभित्र आफूविरुद्ध योजनाबद्ध रूपमा मोर्चाबन्दी भइरहेको दाबी पनि गरे। यद्यपि आफूले कुनै गम्भीर गल्ती नगरेको भन्दै नेतृत्व परिवर्तनको माग कुन प्रक्रिया र आधारमा उठाइएको हो भन्ने प्रश्नसमेत गरेका थिए।
उनको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘मोर्चाबन्दी भएको कुरा हामीलाई थाहा छ। तर मलाई हटाएर के हुन्छ? हटाउने हो भने त्यसको पनि एउटा प्रक्रिया हुनुपर्छ।’
ओलीले आगामी केन्द्रीय कमिटी बैठकमा पार्टीको वर्तमान अवस्था र नेतृत्वसम्बन्धी बहसबारे विस्तृत धारणा सार्वजनिक गर्ने संकेत दिएका छन्। साथै एमालेमा स्वार्थप्रेरित व्यक्तिहरू मात्र नभई विवेकशील नेता–कार्यकर्ता पनि रहेको र उनीहरूले सही निर्णय गर्ने विश्वास व्यक्त गरेका छन्।
उता बागमती प्रदेश भेलामा ओलीनिकट मानिने केही नेताहरूले समेत वर्तमान शैलीमा पार्टी अगाडि बढ्न नसक्ने धारणा राखेका थिए। पुनर्गठन पक्षधर समूहले संगठनात्मक सुधारसम्बन्धी छुट्टै अवधारणापत्रसमेत वितरण गरेको बताइएको छ।
भेलामा नेता आनन्द पोखरेल, गोकुल बास्कोटा, कृष्णभक्त पोखरेल, क्रान्ति बुर्लाकोटी र उर्मिला सुनुवारलगायतले पार्टीको व्यापक पुनर्संरचना तथा संगठनात्मक सुधारको आवश्यकता औँल्याएका थिए।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार













प्रतिक्रिया