काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले आफ्नो सपना पूरा गर्न अब विदेश जानुपर्ने बाध्यता सरकारले क्रमशः हटाउँदै जाने बताएका छन् । त्यसको सुरुवात आगामी आर्थिक वर्षको बजेटबाट भएको उनको भनाइ छ ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ लाई सम्बोधन गर्दै मन्त्री वाग्लेले यस्तो बताएका हुन् ।
‘पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको थियो,’ अर्थमन्त्री डा. वाग्लेले भने, ‘अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ । त्यो बुझ्न बजेट पढ्नुहोस्, बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ ।’
मन्त्री वाग्लेले पाँच वर्षभित्र यो बाध्यतालाई पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य रहेको स्पष्ट पारे । उनले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी तथा व्यवसायीलाई छुट, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डालाई कार्यान्वयन गर्दै युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने नीति अघि सारिएको बताए ।
उनले एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको उल्लेख गरे । यस्तै, करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा गरिएको भन्दै त्यसको फाइदा लिन सबैलाई आग्रह गरे ।
बजेट निर्माण गर्दा युवाहरूको उद्यमशील सोच र योजनालाई विशेष ध्यान दिइएको र त्यसअनुसारका कार्यक्रमहरू घोषणा गरिएको मन्त्री वाग्लेको भनाइ छ ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया