काठमाडौं । नेकपा (एमाले) की नेतृ तथा राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएका मतभेद र असमझदारी अन्त्य गर्दै नेतृत्व तहलाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरेकी छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव शंकर पोखरेल र नेता योगेश भट्टराईको तस्बिरसहित लामो धारणा सार्वजनिक गर्दै झाँक्रीले वर्तमान राजनीतिक, सामाजिक र राष्ट्रिय चुनौतीको सामना गर्न एमालेभित्र एकता, संवाद र सहकार्य अपरिहार्य रहेको उल्लेख गरेकी हुन्।

advertisement

पूर्वअनेरास्ववियु अध्यक्षसमेत रहेका पोखरेल र भट्टराईलाई सम्बोधन गर्दै उनले मुलुक जटिल मोडमा रहेको र त्यसको समाधानका लागि पार्टीभित्र साझा दृष्टिकोण निर्माण हुनुपर्ने आवश्यकता औँल्याएकी छन्।

उनले समाजका समस्या, चुनौती र बदलिँदो परिस्थितिप्रति पार्टीको स्पष्ट र एकीकृत धारणा निर्माण गर्न नेतृत्वलाई सुझाव दिँदै त्यसपछि जनतामाझ पुगेर संगठनलाई समयानुकूल बनाउनुपर्ने बताएकी छन्।

झाँक्रीले पार्टीभित्र मतभिन्नता हुनु स्वाभाविक भए पनि साझा लक्ष्य र राजनीतिक जिम्मेवारीलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित सम्पूर्ण नेतृत्वबीच सहकार्य र समन्वयको वातावरण बनाउनुपर्ने धारणा राखेकी छन्।

एमाले कमजोर हुँदा त्यसको असर केवल पार्टीमा मात्र नभई समग्र राष्ट्रिय राजनीतिमा पर्ने उल्लेख गर्दै उनले वर्तमान संकटलाई कुनै एक व्यक्तिको समस्या मात्र ठान्न नहुने बताइन्। उनका अनुसार पार्टी, कार्यकर्ता र समाजका विभिन्न तहमा देखिएका चुनौतीहरूको वस्तुनिष्ठ समीक्षा गर्दै समाधान खोज्न आवश्यक छ।

झाँक्रीले महासचिव पोखरेलले हालै जनसंगठनका पदाधिकारीहरूसमक्ष प्रस्तुत गरेको राजनीतिक विश्लेषण प्रभावकारी रहेको उल्लेख गर्दै अध्यक्ष ओली र पोखरेलका दृष्टिकोणबीच आधारभूत मतभेद नरहेको दाबी गरेकी छन्।

‘एकले अर्कोलाई दोष लगाएर होइन, सामूहिक कमजोरीलाई स्वीकार गरेर अघि बढ्ने वातावरण बनाउन पहल लिनुहोस्,’ उनले लेखेकी छन्, ‘समय बलवान छ। हरेक कालरात्रिपछि सूर्य उदाउँछ।’

पार्टीभित्र संवाद, सहमति र एकताको संस्कृति बलियो बनाउनुपर्नेमा जोड दिँदै झाँक्रीले सबै नेताहरूलाई संकटको सामूहिक सामना गर्न आह्वान गरेकी छन्।

प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com