काठमाडौं । भारतको पटना स्थित चर्चित शिक्षक खान सरको कोचिङ सेन्टरमा भएको आक्रमण तथा तोडफोड प्रकरणका फरार अभियुक्त एक युवक नेपालमा शंकास्पद अवस्थामा मृत फेला परेका छन्।
२४ वर्षीय प्रिन्स कुमार शनिबार राति विराटनगरको एक होटलमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार उनको टाउकोमा सामान्य चोट देखिएको छ। घटनापछि पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, जसमा चार भारतीय नागरिक र एक नेपाली नागरिक रहेका छन्।
प्रारम्भिक अनुसन्धानअनुसार प्रिन्स कुमार भारतको पटना स्थित एक शैक्षिक संस्थामाथि भएको आक्रमणसँग सम्बन्धित फरार प्रतिवादी थिए। उक्त घटनापछि उनी नेपाल प्रवेश गरेको बताइएको छ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान जारी राखेको छ।
प्रकाशित मिति: ३१ जेष्ठ २०८३, आइतबार












प्रतिक्रिया