काठमाडौं । श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने बताएका छन्। साथै, उक्त विषयमा सरकारले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग पनि गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले रौतहट क्षेत्रमा भारतले उच्च बाँध निर्माण गरी लालबकैया र वाग्मती नदीको प्राकृतिक बहाव अवरुद्ध गरेको भन्ने विषय सार्वजनिक भएको उल्लेख गरे। यसबारे सरकारले यथार्थ तथ्य छानबिन गरी नागरिकसमक्ष जानकारी गराउनुपर्ने उनको भनाइ थियो।
‘भारतको भूभाग जोगाउने नाममा नेपालको भूभाग डुबानमा पार्ने कुनै पनि सन्धि, सम्झौता वा करार राष्ट्रहितविपरीत हुन सक्छ,’ उनले भने, ‘यस विषयमा सरकारले गम्भीरतापूर्वक अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गरोस् भन्ने मेरो आग्रह छ।’
सांसद राईले सप्तरीको राजविराज क्षेत्रमा विगत ८५ वर्षदेखि विटौरी जग्गामा बसोबास गर्दै आएका स्थानीयवासीले धनीपुर्जाको माग गर्दै आन्दोलन गरिरहेकाप्रति सरकारको ध्यानाकर्षण गराए। उनीहरूले लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व सुनिश्चित गर्न सरकारले पहल गर्नुपर्ने उनको माग थियो।
त्यसैगरी, सुनसरी–१ अन्तर्गत रामधुनी क्षेत्रमा झोडा फाँडेर बसोबास गरेका स्थानीयवासीले ६६ वर्ष बितिसक्दा पनि लालपुर्जा प्राप्त गर्न नसकेको उल्लेख गर्दै उनीहरूको समस्या शीघ्र समाधान गर्न सरकारसँग आग्रह गरे।
उनले देशका विभिन्न स्थानमा नक्कली जग्गाधनीको समस्या देखिएको तथा काठमाडौंको माइतीघरमा महिनौँदेखि न्यायको माग गर्दै धर्ना बसिरहेका पीडितहरूको गुनासो सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराए। नागरिकका यस्ता समस्या समाधान गर्न राज्यले संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको जोड थियो।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार













प्रतिक्रिया