काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरण को मुद्दा जिल्ला अदालत काठमाडौंमा हेर्दाहेर्दैमा राखिएको छ ।
पाँच दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा भइरहेको छ । फाइल अध्ययन गर्न थप समय लाग्ने भएकाले आज अपराह्नपछि सुनुवाइ रोकेर भोलि (बुधबार) का लागि पेसी तोकिएको हो ।
यो मुद्दामा बहस गर्न सयौं कानुन व्यवसायीले नाम टिपाएका छन् । न्यायाधीश खड्काले बहसको समय व्यवस्थापन गर्न र छोट्याउन आग्रह गरिरहेका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठूलो रकम असुली गरेको आरोपमा ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो । २०८० जेठ १० मा दायर गरिएको मुद्दामा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहसचिव टेकनारायण पाण्डेलगायत उच्च पदाधिकारीहरू छन् ।
मुद्दा दायर हुँदा १८ जना पक्राउ परेका थिए । तीमध्ये १६ जनालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गरिएको छ भने २ जनालाई धरौटीमा छाडिएको थियो । १२ जना फरार थिए, जसमध्ये केही पक्राउ परिसकेका छन् ।
यो प्रकरणमा केही समयपछि पूरक अभियोगपत्र पनि दायर गरिएको थियो । थुनछेक बहस र आदेशबाहेक तीनवटै मुद्दालाई एकसाथ जोडेर सुनुवाइ भइरहेको छ ।
जिल्ला अदालतले प्राप्त प्रमाणका आधारमा अभियुक्तहरूलाई कसुरदार ठहर गर्दै थुनामा पठाएको थियो । केही अभियुक्त उच्च अदालतबाट धरौटी र तारेखमा छुटेका छन् भने केही अझै थुनामा छन् ।
यो मुद्दा लामो समयदेखि प्राथमिकतामा नपरे पनि जेठ २७ गतेदेखि निरन्तर सुनुवाइ भइरहेको छ ।
प्रकाशित मिति: २ असार २०८३, मंगलबार












प्रतिक्रिया