काठमाडौं । पूर्वमिस नेपाल शृंखला खतिवडाले पनि काठमाडौँ महानगरमा फुटपाथ व्यवसायीलाई लखेट्ने स्थानीय सरकारको अभियानको विरोध गरेकी छन्।
बालेन्द्र शाह मेयर बनेयता काठमाडौँ महानगरपालिकाले सार्वजनिक क्षेत्र खाली गर्ने अभियानै सञ्चालन गरिरहेको छ।
यस क्रममा महानगरपालिकाले फुटपाथमा वर्षाैँदेखि व्यवसाय गरिरहेकाहरूलाई प्रहरी लगाएर हटाइरहेको छ। त्यससम्बन्धी एउटा भिडिओ पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आफ्नो ट्विटरमा सेयर गर्दै विरोध गरेका छन्।
त्यसैमा कमेन्ट लेख्दै पूर्वमिस नेपाल खतिवडाले पनि बिनाविकल्प फुटपाथ व्यवसायीलाई विस्थापन गर्नु गलत भएको बताएकी हुन्।
‘के हामीलाई सहरको ‘सुन्दरता’ त्यति धेरै प्यारो भयो कि ठेलाको व्यापार पनि देख्न सकेनौँ? भोलि त्यै ठेला नआउँदा तरकारी कहाँ किन्छौँ’, पूर्वमिस नेपाल खतिवडाले भनेकी छन्, ‘अनौपचारिक क्षेत्रबिना अहिले नै सहर चल्न सक्दैन। कि त ठाउँ दिनुपर्यो, यस्तो ज्यादतीले केही समाधान हुँदैन है।’
‘दोष ठेलाको कि हाम्रो सिस्टमको त’, शृंखलाले आक्रोश पोखेकी छन्, ‘के भोलि नै सहरभरि औपचारिक भाडा र कर तिर्न सक्ने तरकारी पसल खोल्न सक्छौँ हामी?’
यसरी खतिवडाले काठमाडौं महानगरको यस कार्यप्रती असन्तुष्ट व्यक्त गरेकि हुन् ।
प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार
प्रतिक्रिया