काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमाथि दबाब सिर्जना गरिएको भन्ने आरोपप्रति गम्भीर चासो व्यक्त गर्दै निष्पक्ष छानबिनको माग गरेको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद नरेन्द्रकुमार केरुङले पत्रकार सीताराम बरालले फेसबुक लाइभमार्फत सार्वजनिक गरेको सामग्रीलाई आधार बनाउँदै अख्तियारका पदाधिकारीहरूमाथि दबाब दिइएको दाबी गरे।

advertisement

सांसद केरुङका अनुसार सार्वजनिक भएको दाबी सत्य भए अख्तियारका प्रमुखसहित पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्र नियन्त्रणमा राखेर पक्राउ पुर्जी जारी गर्न बाध्य पारिएको देखिन्छ, जुन लोकतान्त्रिक शासन व्यवस्था र संवैधानिक संस्थाको स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप हुने उनले बताए।

‘संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयभित्रै राखेर धम्कीपूर्ण वातावरणमा निर्णय गराउन खोजिएको भन्ने विषय बाहिर आएको छ,’ केरुङले भने, ‘यदि यसमा सत्यता छ भने यो लोकतन्त्र, विधिको शासन र सुशासनका सिद्धान्तविपरीतको अत्यन्तै गम्भीर घटना हो।’

उनले घटनाको वास्तविकता सार्वजनिक गर्न र सम्बन्धित आरोपबारे निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरे।

कांग्रेसले संवैधानिक निकायहरूको स्वतन्त्रता र निष्पक्षता कुनै पनि हालतमा कमजोर हुन नहुने भन्दै सार्वजनिक रूपमा उठेका यस्ता गम्भीर आरोपहरूको सत्यतथ्य छानबिन गरी संसद्लाई जानकारी गराउन सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com