काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रीको जिम्मेवारी सम्हालेपछि आफूले रुचाउने ‘कक्षा’बाट टाढिनुपरेको बताएका छन्। मन्त्रालयको कार्यव्यस्तताका कारण संसदमा नियमित रूपमा उपस्थित हुन नसकेको उल्लेख गर्दै उनले त्यसप्रति खेद व्यक्त गरेका हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री पुनले सांसदहरूसँग हुने छलफल र संसदका गतिविधिलाई आफूले विशेष महत्व दिने गरेको भए पनि मन्त्रीपछिको व्यस्तताले अपेक्षाअनुसार समय दिन नसकेको बताए। उनले यस अवस्थाका लागि क्षमा समेत मागे।

advertisement

‘मन्त्री भएपछि मेरो प्रिय कक्षा छुटेजस्तो भएको छ,’ उनले भने, ‘सधैँ संसदमा उपस्थित हुन नसकेकोमा म क्षमाप्रार्थी छु।’

मन्त्री पुनले आफ्नो मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि करिब चार अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै त्यसको ठूलो हिस्सा अझै कार्यक्रम निर्धारण नभएको अवस्थामै रहेको बताए। उनका अनुसार विनियोजित रकममध्ये झन्डै साढे तीन अर्ब रुपैयाँ ‘अबन्डा’ शीर्षकमा राखिएको छ, जसअन्तर्गत सञ्चालन गरिने कार्यक्रमहरूको टुंगो लगाउने काम बाँकी छ।

उनले उक्त बजेटलाई प्रभावकारी रूपमा परिचालन गर्न मन्त्रालयले प्राथमिकता निर्धारण तथा कार्यक्रम तर्जुमाको प्रक्रिया अघि बढाइरहेको जानकारी पनि दिए।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com